जनता टाइम्स

२० मंसिर २०७८, सोमबार १६:०८

आफ्नै चार नेताले हराए गुरु घिमिरेलाई चुनाव


बिराटनगर, मंसिर २० । आफूलाई प्रस्ताव गर्ने नेताहरुले नै भोट नदिएपछि नेपाली कांग्रेस प्रदेश १ का सभापतिमा गुरुराज घिमिरे पराजीत हुनपरेको तथ्य बाहिर आएको छ । उद्धव थापासँग पराजित नेता घिमिरेलाई प्रस्ताव गर्ने आफ्नै समुहका नेताहरुले नै मत नदिएको तथ्य बाहिर आएको हो ।

घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउन प्रस्ताव गर्ने संस्थापन (सभापति शेरबहादुर देउवा) इतर समूहका केन्द्रीय नेताहरु डा. शेखर कोइराला, सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले नै मतदान नगर्नु भएको पाइएको छ । चार जना नेताले मतदान नगर्दा घिमिरे दुई भोटले पराजीत हुनुपरेको छ । सभापतिमा घिमिरे संस्थापनको समेत साथ रहेका कृष्ण सिटौला समुहका उद्धव थापासँग २ मतले पराजित हुनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्य रहेका चारै जना नेताहरु स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा मतदाता रहनुभएको थियो । प्रदेश १ मा फराकिलो अन्तरले जित्ने आँकलन गर्दै केन्द्रीय नेताहरु मतदान नगरेको बताइएको छ । मतदान नगरेको बिषयमा निर्वाचन समितिले झुक्याएको भन्दै शेखरले माफी माग्नुभएको छ ।

यता २ मतले पराजित भएपछि घिमिरेले पुनः मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिनुभएको छ । तर प्रदेश निर्वाचन समितिले पुनः मतगनणा नगर्ने भन्दै केन्द्रीय निर्वाचन समितिमा पठाएको छ ।