जनता टाइम्स

२० मंसिर २०७८, सोमबार २०:२८

अनेरास्ववियुको सदस्यता वितरण महाअभियान सुरु


काठमाडौं, २० मंसिर । नेकपा (एमाले) को विद्यार्थी सङ्‍गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सङ्‍गठन विस्तार तथा सदस्यता वितरण महाअभियान सुरु गरेको छ। अनेरास्ववियु केन्द्रीय सङ्‍गठन विभागले तराईका क्षेत्रका संगठन बिस्तार गर्ने उदेश्यले महाअभियान काठमाण्डौंमा त्रिचन्द्र क्याम्पस र रुपन्देहीबाट सुरु गरेको हो । काठमाडौंमा एमाले महासचिव शंकर पोखरेल र रुपन्देहीमा पार्टी केन्द्रीय सदस्य तथा संगठनका पूर्वअध्यक्ष खिमलाल भट्टराईले अभियानको शुभारम्भ गर्नुभएको हो ।

अनेरास्ववियुले देशभर सङ्‍गठन विस्तार गर्दै सदस्यता वितरणलाई तीव्र बनाउने जानकारी दिएको छ । ‘हामीले सङ्‍गठन विस्तार र सदस्यता वितरणको काम विगतमा पनि निरन्तर गर्दै आएका थियौं,’ कार्यक्रममा अखिल अध्यक्ष एवं एमाले केन्द्रीय कमिटी सदस्य सुनिता बरालले भन्नुभयो, ‘अहिले विशेष राजनीतिक परिस्थिति र केही समय सङ्‍गठन चलायमान हुन सकेको थिएन। अहिले यसलाई अझ विस्तार गर्दै लैजान लागिएको हो।’

अध्यक्ष बरालले देशभर नै पुराना सदस्यहरुको नवीकरणसहित महाअभियानबाट देशभर १० लाख सदस्यता वितरण गरिने जानकारी दिनुभयो । आउने स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई प्रत्येक क्याम्पसमा विजय बनाउने उद्देश्यले अघि बढ्ने उहाँको भनाइ छ । उता रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं–२ स्थित जोगडा माध्यमिक विद्यालयबाट महाअभियान सुरु गरिएको थियो । अभियानमा तराई क्षेत्रमा अब विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको पूर्वअध्यक्ष भट्टराईले बताउनुभयो ।

अहिले पनि विद्यार्थीहरु आवश्यक शिक्षाबाट बञ्चित भएको बताउँदै उहाँले शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले महाअभियान सुरु गरेको बताउनुभएको थियो । जोगडा माध्यमिक विद्यालयबाट सुरु भएको महाअभियान रुपन्देहीका क्याम्पस तथा माध्यमिक विद्यालयमा केन्द्रीत हुने र २५ हजार विद्यार्थी सदस्यता बनाउने गरी महाअभियानको सुरु गरिएको अनेरास्ववियु रुपन्देहीका सचिव प्रकाश पराजुलीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष यम पाण्डेले सहरमा मात्र नभई गाउँगाउँमा अनेरास्ववियु विगुल फुक्न निस्केको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिति सदस्य राजु बेलाल, अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय सचिबालय सदस्यहरु बालकृष्ण पाण्डे, लेखनाथ भुसाल, केन्द्रीय सदस्यहरु नविन थापा सारु, कृष्णप्रसाद बस्याल, सिमा घिमिरे, साजन भण्डारीलगाएतले सम्बोधन गर्नुभएको थियो । महाअभियानको सुरु भएको जोगडा माध्यमिक विद्यालयमा २ सय १० सदस्यीय संगठन विस्तार गरिएको छ ।