जनता टाइम्स

१३ असार २०७६, शुक्रबार २०:३२

श्रम तथा रोजगार सम्मेलन : रोजगारीको सम्भावना पहिल्याउँदै सरकार


काठमाडौं, असार १३

पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले असल श्रम सम्बन्धको विस्तार गर्दै स्वदेशमै रोजगारीका अपार सम्भावना पहिल्याउन पहिलो पटक राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०७६ गर्ने भएको छ ।

सरकारले नेपाली श्रम बजारमा रोजगारीको सम्भावना, रोजगारी र श्रमिकको माग तथा आपूर्तिको विश्लेषण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको हो । सम्मेलन यही असार १५ र १६ गते राजधानीमा हुनेछ । श्रम बजारको आवश्यकता र श्रम शक्तिको सीपको अवस्थाको विश्लेषण गरी समस्या समाधानका उपाय खोजी गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

सम्मेलनका बारेमा जानकारी दिन आज आयोजित पत्रकार भेटमा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले सम्मेलनका क्रममा स्वदेशका सम्भावनायुक्त क्षेत्रमा युवाको आकर्षण बढाई श्रम बजारको मागबमोजिम दक्ष जनशक्तिको विकास गर्न आवश्यक नीति, योजना र कार्यक्रम तय गरिने बताउनुभयो । ‘आन्तरिक रोजगारीको प्रवद्र्धन नै सम्मेलनको मुख्य उद्देश्य हो,’ सम्मेलनको उद्देश्य प्रष्ट पार्दै उहाँले भन्नुभयो ।

सम्मेलन दुई प्रकारको ढाँचामा सञ्चालन गरिनेछ । सम्मेलनका क्रममा प्राविधिक सत्रमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । त्यसैगरी सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनी गरिनेछ । विभिन्न समूहगत क्षेत्रमा आधारित रहेर विज्ञले तथ्य, तथ्याङ्क तथा प्रवृत्ति विश्लेषणसहितको कार्यपत्र प्रस्तुत गर्नेछन् ।

प्राविधिकसत्रमा विशेषगरी उद्योग, जलविद्युत्, सडक, सिँचाइ, खेलकूद, अन्य पूर्वाधारलगायत निर्माण क्षेत्र, साना उद्योग, हस्तकला, जडीबुटी र प्रशोधन उद्योगलगायत घरेलु तथा साना उद्योग, सूचना प्रविधि, सेवा क्षेत्रका बारेमा नीतिगत छलफल, रोजगारीको सम्भावनाको खोजी गरिनेछ । सम्मेलनका क्रममा विज्ञले श्रम तथा रोजागार क्षेत्रमा नेपालको वर्तमान अवस्थाका बारेमा छलफल गर्नेछन् । रोजगारीको सम्भावनाका विश्लेषण, चुनौती तथा अन्तर विश्लेषण तथा भावी दिनमा चाल्नुपर्ने कदमका बारेमा छलफल हुने प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

सम्मेलनबाट राष्ट्रिय रोजगार नीति ढाँचा विकास गर्न सरोकारवालाबाट सल्लाह सुझाव प्राप्त हुने, नेपालमा श्रम तथा रोजगार क्षेत्रमा रहेका विभिन्न प्रकारका चुनौतीको सम्बोधन गर्न सबै प्रकारका सरोकारवालाबीच साझा धारणाको विकास गर्दै जाने सरकारको लक्ष्य रहेको छ । प्रवक्ता रेग्मीले सम्मेलनका क्रममा हुने छलफलबाट रोजगारी तथा सीपको सम्भाव्य क्षेत्रको पहिचानसहित उपयुक्त सीप रणनीतिको विकास गर्न सहयोग मिल्ने अपेक्षा गरिएको बताउनुभयो ।

सम्मेलनको पहिलो दिन श्रम तथा रोजगारसम्बन्धी नीति पुनरावलोकन, श्रम आप्रवासन तथा विदेशबाट फर्किएकाको पुनःएकीकरण तथा कामको भविष्यका बारेमा प्रस्तुति तथा छलफल हुनेछ । त्यसैगरी दोस्रो दिन नेपाली श्रम बजार र आय स्थितिको सिँहावलोकन, कार्य संस्कृति र श्रम मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारी र सूचना प्रविधि, श्रम उत्पादनशीलता र राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीका लागि सीप विकास विषयमा प्रस्तुति तथा छलफल हुनेछ ।

श्रम तथा रोजगार सम्मेलनले नेपालमा रोजगारीको सम्भावना, रोजगारी र जनशक्तिबीचको अन्तर, रोजगारीलाई विस्तार गर्न तथा बेरोजगार र रोजगारीलाई एकआपसमा जोड्नका लागि सफल हुने उहाँले विश्वास गर्नुभयो । नीतिगत परिमार्जनको आधार खोज्न पनि सम्मेलन सहायकसिद्ध हुने उहाँको भनाइ थियो ।

सम्मेलनको दौरान सीप तथा उद्यमको प्रदर्शनीसमेत गरिनेछ । विभिन्न उद्योगी समूह, उद्यमीको सञ्जाल तथा व्यवसायीले आ–आफ्नो क्षेत्रको आवश्यकता, व्यवसाय विकासको सम्भावना, सीप तथा क्षमता विकासको आवश्यकता तथा सूचना प्रविधिका क्षेत्रमा भएको नमूना उद्यमको प्रदर्शन गरिने प्रवक्ता रेग्मीले जानकारी दिनभयो । विशेषतः जुत्ता, पर्यटन तथा होटल व्यवसाय, सूचना प्रविधि, साना सामग्रीलगायत उत्पादनको विषयमा छुट्टाछुट्टै प्रदर्शनी गरिनेछ ।

सम्मेलनमा सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, विषयगत मन्त्रालयका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, विषय विज्ञ, प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धानकर्ता, रोजगारदता, तालीम प्रदायक संस्था, नमूना उद्यमी, सहकारी क्षेत्र, मजदूर सँगसङ्गठनका प्रतिनिधिलगातयको सहभागिता रहनेछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।