२२ मंसिर २०७८, बुधबार ००:००

एनआरएनए निर्वाचन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास


लन्डन, मंसिर २२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएको छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडौंको होटेल र्‍याडिसनमा रात्रीभोज दिएको भन्दै अर्को पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेको आरोप लगाएको छ ।

रात्रीभोजमा सहभागी गैरआवासीय नेपाली संघ यूकेका पूर्वउपाध्यक्ष थर्क सेनका अनुसार सो भोजमा बेलायतका लागि पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदीसमेतको उपस्थिति थियो । सेनले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय निर्वाचनको यात्रामा काठमाडौंको र्‍याडिसन होटलमा आयोजित रात्रीभोजमा सरकारी उच्चअधिकारीसहित सुझाव लिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पुष्टि गर्नुभएको छ ।

गत आइतवार पाटन उच्च अदालतले एनआरएनए निर्वाचन रोक्नु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशन अन्तरिम आदेशमार्फत बदर गरिदिएपछि सोबिरुद्ध मन्त्रालयमार्फत सर्वोच्च अदालतमा अपिल गराउने उद्देश्यले आचार्यले मुख्य सचिवसहितको डिनरको आयोजना गरेको बताइएको छ । मुख्यसचिव बैरागी र आचार्य दुवैजना पर्वत जिल्लाबासी हुनुहुन्छ ।

गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसको ठाडो हस्तक्षेपमा परराष्ट्र मन्त्रालयमार्फत महाधिवेशन तथा निर्वाचन रोकिएको संघको संस्थापन पक्षले आरोप लगाएको छ । सत्ता गठबन्धनको उम्मेदवारको रूपमा चर्चामा रहेका आचार्यले सरकार र शक्तिकेन्द्रको प्रयोग गरेर संघको निर्वाचन रोक्ने प्रयास गर्दै आएको अर्को पक्षको आरोप छ । संघको निर्वाचनमा डिसेम्बर २६ र २७ तारिख अनलाइनमार्फत हुने गरी निर्वाचन समितिले तालिका प्रकाशन गरेको छ । संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र कुल आचार्य दावेदार हुनुहुन्छ ।