जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १६:५३

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने, बैठकस्थलको ब्यवस्थापन अन्तिम चरणमा


काठमाडौं, मंसिर २२ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । केन्द्रीय कमिटीको आकार ठूलो भएपछि एमालेले यसपटक केन्द्रीय कमिटीको बैठक भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा बस्ने तय भएको हो ।

दशौं महाधिवेशनबाट निर्वाचित भएलगत्तै शौरहामा बसेको एमाले केन्द्रीय कमिटीको पहिलो बैठकले बैठक यही मंसिर २५ र २६ गते केन्द्रीय कमिटीको दोस्रो बैठक बस्ने तय गरेको थियो । यसअघिको कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँ सानो भएकोले यसपटक गठ्ठाघरमा बैठक बस्ने तय गरिएको जताटाइम्स डटकमलाई बताउनु भयो । यसअघि एमालेको केन्द्रीइ कमिटी बैठक तेल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने गरेको थियो । ‘केन्द्रीय कमिटीको आधारलाई हेरेर बैठकस्थल तय गरिएको हो,’ तामाङले भन्नुभयो ।

बैठकस्थल तय भएसँगै तयारीको काम अन्तिम चरणमा पुगेको कार्यालय सचिव तामाङले बताउनु भयो । एमाले केन्द्रीय कमिटीको दोस्रो बैठकमा केन्द्रीय सदस्यहरुको कार्यबिभाजन, स्थायी कमिटी र पोलिटब्यूरो गठन र मनोनीतिसमेतको एजेण्डा रहेको छ । केन्द्रीय कमिटी बैठकले संगठन बिस्तारको आक्रामक योजनासमेत ल्याउने गरी गृहकार्य अघि बढेको छ । अध्यक्ष ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरु अहिले स्थायी कमिटी गठनदेखि संगठन बिस्तारको योजना बनाउने काममा लागिरहनु भएको छ ।