जनता टाइम्स

२२ मंसिर २०७८, बुधबार १९:३०

सहमति नजुटेपछि रामचन्द्रको घोषणा : पार्टीबाटै अलग हुन्छु


काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैले सभापतिमा दबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताउनुभएको छ । आज नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी सबैले अडान कायम राखेपछि वरिष्ठ नेता पौडेलले आफू राजनीतिबाट अलगिएर आराम गर्ने बताउनुभयो ।

पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको भएपनि नेताहरु शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेलले यस्तो बताएको बैठकपछि नेता रामशरण महतले जानकारी दिनुभयो । नेता पौडेलले अरु सबै एक भए आफू त्याग गर्न तयार रहेको बताउँदै नभए आफूलाई सभापति छाड्नु पर्ने बताउनुभएको थियो । ‘रामचन्द्रजीले पनि मलाई सहयोग गर्नुस् भन्नुभयो।

प्रकाशमानजीले पनि म पनि लड्छु भन्नुभएको छ। शेखरजी पनि लड्ने भन्नुभएको छ’ बैठकपछि महतले भन्नुभयो । पौडेलले सबै लड्ने भए आफू राजनीतिबाट बिदा बताएको महतले उल्लेख गर्नुभयो । ‘सबै लड्ने भए म राजनीतिबाट बिदा हुन्छु, आराम गर्छु। पार्टीबाटै अलग हुन्छु’, बैठकमा पौडेलको भनाइ उद्दृत गर्दै महतले भन्नुभयो । संस्थापन इतरबाट आज सभापतिको साझा उम्मेदवार चयन गर्ने भनिएको भए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा पुनः भोलि विहान आकांक्षी बाहेकको बैठक बस्ने निर्णय भएको छ ।