काठमाडौं, २४ मंसिर । नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिनुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उहाँहरु एउटै मञ्चमा उपस्थित हुनुभएको हो ।
सुरुमै प्रचण्ड र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुग्नुभएको भए पनि एमाले अध्यक्ष ओली ढिलोगरी पुग्नुभएको हो । गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उहाँको पार्टीलाई निमन्त्रणा गरिएको थिएन । निमन्त्रणा गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाउनुभएको थियो । एमाले महाधिवेशनमा नगएका प्रचण्ड र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग आमनेसामने हुनुभएको हो ।
एमाले विभाजन भएर नेकपा (एस) गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो । एमाले विभाजनपछि ओली, नेपाल र प्रचण्ड पहिलोपटक आज कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिनुभएको हो । कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बाँनियाले स्वागत गर्नुभएको ओली देउवा र रामचन्द्र पौडेलको बीचमा बस्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्