जनता टाइम्स

२६ मंसिर २०७८, आईतवार ०५:४२

कांग्रेसको चुनावी जोडघटाउ : कस्को अवस्था कस्तो ?


काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । वर्तमान सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल पक्ष र यसअघि नै घोषणा गरेका विमलेन्द्र निधिबीच सभापतिमा प्रतिस्पर्धा हुने आकलन कांग्रेस कार्यकर्ताहरुको थियो। यसअघि देउवाको टिममा रहेका निधिले पनि अन्तिममा सहमति गर्ने अनुमान विपरित उम्मेदवारी परेको छ । आज मध्याह्न अघिसम्ममा उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय उपलब्ध हुनेछ।

धेरै जनाको उम्मेदवारी परेको कारण कसैले फिर्ता नलिए पहिलो चरणमै निर्वाचनमा सभापति निर्वाचित हुने सम्भावना न्यून हुने देखिएको छ । सभापतिमा जितका लागि कम्तिमा ५१ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । गत महाधिवेशनमा पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको मतदानमा कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि धेरै मत ल्याएका दुई जना देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो । र, बाजी देउवाले मार्नुभएको थियो । १३ औं महाधिवेशनमा कांग्रेसका महाधिवेशन प्रतिनिधिले सभापतिका लागि दुई पटक मतदान गरेका थिए ।

अहिलेको अवस्था पनि त्यस्तै हुने कतिपयको अनुमान छ । संस्थापन पक्षका देउवाबाट छुट्टिएर निधिले सभापतिमा उम्मेदवारी दिनुभएको छ । निधिले संस्थापन पक्षकै भोट काट्ने छन् भने इतर पक्षको अवस्था पनि उस्तै छ । सभापतिका दुई उम्मेदवार डा. शेखर कोइराला र प्रकाशमान सिंहबीच भोट बाँढिने निश्चित प्राय छ । अन्य दुई उम्मेदवारले धेरै मत नकाटे पनि त्यसको सामान्य प्रभाव पर्न सक्छ ।

देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षबीच तालमेल भएको छ। तर, उक्त पक्षसँग धेरै मत भने रहेको छैन । सोमबार मतदान सकिएपछि सबैभन्दा पहिला सभापतिको मत गणना गर्ने र ५१ प्रतिशत मत कसैले नल्याए पुनः मत गणना गर्ने कार्यक्रम कांग्रेस निर्वाचन समितिको छ । त्यसपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मत गणना हुने जनाइएको छ ।

देउवाको दाबी : पहिलो चरणमै जित्छु

देउवाले आफूले पहिलो चरणमै जित्ने दाबी गर्नुभएको छ । सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै देउवाले यस्तो दावी गर्नुभएको हो । ‘सभापतिको निर्वाचनमा पहिलो चरणमा नै विजयी हुनेछु,’ देउवाको भन्नुभएको छ । सभापति पदमा उम्मेदवारी दिएपछि ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘कांग्रेसलाई बलियो बनाउँदै आगामी स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने मेरो एउटै लक्ष्य छ। यो लक्ष्यमा सबैको साथ र सहयोगको अपेक्षा गरेको छु।’

उहाँ निकट नेताहरु पनि पहिलो चरणमै जित देउवाले निकाल्ने दाबी गर्छन् । तर, देउवाले पाँच वर्ष पार्टी हाँकीसक्नु भएको छ । उहाँले नेतृत्व लिएको समयमा देशमा भएको तीन तहको चुनावमा कांग्रेस निकै कमजोर देखियो । वामपन्थी दलका अगाडी कांग्रेस निरीह देखियो । उहाँले हारमा समेत आफ्नो कमजोरीलाई स्वीकार गर्नुभएन । सरकारको नेतृत्व गरिरहेका भए पनि उहाँको शासन कालमा कांग्रेस नेता कार्यकर्ताले वाउ भन्ने खालको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । यस्तोमा देउवाले दाबी गरेजस्तो पहिलो चरणमै सहजै चुनाव जित्ने सम्भावनालाई अर्का सभापतिका उम्मेदवार प्रकाशमान सिंहले स्वीकार गर्नुभएको छैन ।

सिंहको दाबी दोस्रो चरणको निर्वाचन हुने र त्यसमा आफू विजयी हुने छ । सिंहले पहिलो चरणमा निर्वाचनको मतपरिणाम नआउने दाबी गर्नुभएको छ । उम्मेदवारी दर्ता अघि घोषणा कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सिंहले भन्नुभयो, ‘पहिलो चरणमा होइन, दोस्रो चरणमा हाम्रो प्यानलै विजयी हुन्छ।’

इतर पक्षबाट शेखर कोइरालाको नेतृत्वमा रहेको प्यानलमा रहेका गगन थापा लगायतका नेताहरुका कारण पनि देउवाले भनेजस्तो सहज रुपमा जित निकाल्न कठिन हुने आकलन महाधिवेशन स्थलमा उम्मेदवारी दर्तापछि चुनावी परिणाम बारे पूर्वानुमान गरिरहेका कांग्रेस प्रतिनिधिहरुको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको १ सय ३४ पदका लागि ५४८ जना उम्मेदवार मैदानमा रहेका छन् । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।