काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज सभापतिका लागि दोस्रो चरणको मतदान हुँदैछ । दोस्रो चरणबाट सभापतिको छिनोफानो भएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना सुरू हुने निर्वाचन समितिले बताएको छ ।
सभापतिपछि पदाधिकारीमा सबैभन्दा बढी चासो महामन्त्रीमा कसले जित्छ भन्नेमा रहेको कांग्रेस महाधिवेशन प्रतिनिधिको छ । सभापतिका लागि दोस्रो मतदान भइरहँदा अन्य पदाधिकारीको मत पेटिकामा परिसकेको छ । छुट्टाछुट्टै प्यानलबाट तीन जना युवा नेताहरू गगन थापा, बिश्वप्रकाश शर्मा र प्रदीप पौडेल चुनावी मैदानमा हुनुहुन्छ ।
गगन यसपटक दोस्रो पटक महामन्त्रीमा उम्मेद्वार बन्नुभएको छ । डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बन्नुभएका थापाले यसपटक पनि पराजीत भए कांग्रेसको कुनै पनि कमिटीमा नबसी क्रियाशील सदस्य भएर बस्ने घोषणा गरिसक्नु भएको छ । शेखरकै प्यानलबाट महामन्त्रीमा डा. मिनेन्द्र रिजाल पनि उम्मेदवार हुनुहुन्छ ।
सभापति शेरबहादुर देउवाको प्यानलबाट डा. प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार हुनुहुन्छ । कांग्रेस प्रवक्तासमेत रहनुभएका विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठनु भएको थियो । दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गर्नुभएको छ ।
फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्भेक्षणलाई आधार मान्ने हो भने कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित हुने देखिन्छ । सो संस्थाले सभापतिका उम्मेदवारले पहिलो चरणमा कति मत पाउन सक्छन भनेर गरेको सर्भेक्षण र अन्तिम नतिजा लगभग मिलेको छ । फ्याक्ट्स नेपालको सर्भेक्षणमा सभापतिका लागि शेरबहादुर देउवाले ४५, शेखर कोइरालाले ३८, प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखाएको थियो ।

पहिलो चरणको अन्तिम मत परिणाममा देउवाले २२५८ (४८.२५), शेखरले १७०२ (३६.३७), सिंहले ३७१ (७.९) र निधिले २५० (५.३४ प्रतिशत) मत पाउनु भएको छ । यस्तै सर्भेले महामन्त्रीमा गगन ले ४५, विश्वप्रकाशले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र अन्यले १ प्रतिशत मत पाउने देखाएको छ । सभापतिमा जस्तै महामन्त्रीमा पनि मिले गगन र बिश्वप्रकाश महामन्त्री बन्ने देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्