काठमाडौं, पुस १ । नेपाली कांग्रेसको उपसभापतिमा बिजयी धनराज गुरुङलाई हराउने प्रयाश निर्वाचन समितिले नै गरेको तथ्य मतपरिणामपछि उजागर भएको छ । सभापति शेरबहादुर देउवा प्यानलबाट यम्मेदव्वार बन्नुभएका बिजयकुमार गच्छद्धारसँग झिनो मतान्तरले विजयी हुनुभएका डा. शेखर कोइराला प्यानलका धनराज आफै उपस्थित भएर दुई बदमासी रोकेकै कारण निर्वाचन जित्न सफल हुनुभएको हो ।
कांग्रेसको दुई उपसभापतिका लागि भएको भिडन्तमा सर्वाधिक मत ल्याएर देउवा प्यानलका पूर्णबहादुर खड्का विजयी हुँदा धनराजले दोस्रो नम्बरमा रहँदै झिनो मतले जित्नुभयो । मतगणनामा सुरुबाटै अग्रता लिएपछि धनराज सानेपा पुग्नुभएको थियो । १२०० मतगणना कोइराला प्यानलका गुरुङले ४२ मतको अग्रतामा हुनुहुन्थ्यो। उहाँलाई देउवा प्यानलका पूर्णबहादुर खड्काले पछ्याइरहनु भएको थियो । तर मतगणनाको मध्य हुँदै गएपछि खड्काले गुरुङलाई उछिन्नुभयो भने विजय गच्छदारले पनि कडा चुनौती दिनुभयो ।
मत गणनाको क्रममा धनराज गुरुङ पुग्नेबित्तिकै पनि धनराजको एक भोट तलमाथि गर्न खोजिएको थियो। निर्वाचन समितिका सदस्यले विजय गच्छदारको भोटलाई ३३ को ठाउँ ३४ भनेर टिपिएको थियो। तर धनराज पक्षले फेरि गणना गर्न दबाब दिएपछि गच्छदारको मत ३३ कायम गरियो। धनराजको मतलाई लिएर सुरुदेखि बुथ प्रतिनिधि र निर्वाचन समितिका पदाधिकारीबीच विवाद चलेको थियो।
देउवाका दाहिने हातका रुपमा परिचित गच्छदारको पक्षमा नजानिँदो नरमपन निर्वाचन समितिका सदस्यहरुले देखाउँदा पटक पटक विवाद भइरह्यो । धनराजका प्रतिनिधि र धनराज स्वयं बदमासी रोक्न सक्रिय बन्नुभयो । जब बाँकी ९०० मत गन्ने समय आयो तब अर्को विवाद सुरु भयो। १, ३ र ७ को मत भएको बुथमा धनराज गुरुङ र प्रकाशमान सिंह समूहकी सुजाता कोइरालाका प्रतिनिधिले सयको मतको बन्डलबाट धनराजलाई खसेको मत संख्या ४३ टिपे।
तर ९०० मत गन्न बाँकी भएको अवस्थामा एक सय मतको बन्डलमा बाँकी उम्मेदवारका प्रतिनिधिले ४१ मात्रै टिपेका थिए। निर्वाचन समितिले पनि ४१ लाई नै मान्यता दियो। त्यसलाई लिएर धनराज र सुजाताका प्रतिनिधिले आपत्ति जनाए। उनीहरुले धनराजको एक मत घटाइएको भन्दै सयको बन्डल फेरि गन्न दबाब दिए।
बुथ प्रतिनिधिले भन्दा निर्वाचन समितिले नमानेपछि सानेपामै रहेका धनराज आफैँ अघि सर्नभयो। उम्मेदवार आफैं अघि सरेर दबाब दिएपछि निर्वाचन समितिका सदस्यहरु गल्न बाध्य भए। धनराज आफैंले सय मतको उक्त बन्डल फेरि गणना हुनै पर्ने अड्डी कसे। धनराजले दबाब दिएर झ्वाँक्किँदै भनेपछि सयको बन्डल फेरि गनियो अनि मत पनि ४३ नै सदर भयो।
उपसभापतिको मतगणना हुँदा निर्वाचन समितिका अधिकारीहरुले पटक पटक धनराजको मत कम गर्न खोजेको थियो । जुन कुरा सुजाता कोइरालाका बुथ प्रतिनिधिले पनि पुष्टि गरे। उनका अनुसार धनराजले अग्रता लिँदा पटक पटक विवाद भएको थियो। निर्वाचन समिति गच्छदारको पक्षमा नरम भइदिँदा धनराज आफैं सानेपामा खटिएपछि अन्य मतमा गडबडी हुन पाएन । अन्तमा धनराजले दुई मतले जित्नुभयो ।
निर्वाचन समितिको नियती थाह पाएकै कारण बिजयुले पुनः मत गणनाको निवेदन दिनुभएको छ । तर यसअघि सुनसरी र प्रदेश १ मा यस्तै घटना हुँदा निर्वाचन समितिले मतगनणा नगर्ने निर्णय लिइसकेको र आफैले पनि परिणाम स्वीकार गर्न भनेको कुरा बिजयले बिर्सनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्