जनता टाइम्स

१ पुष २०७८, बिहीबार १२:२६

महिलालाई घाँस खुवाएको विज्ञापन बनाएपछि दक्षिण कोरियाको डेरीले माग्यो माफी, के छ विज्ञापन ?


सीउल, १ पुस । एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ । विज्ञापनबारे चौतर्फी आलोचनापछि सीउल मिल्कले माफी मागेको हो ।

‘२९ नोभेम्बरमा सार्वजनिक भएको एउटा दूधको विज्ञापनका कारण असहज महसुस गर्नुहुने सबैसँग हामी माफी माग्छौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडियोको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।

के छ विज्ञापनमा ?

भिडियो विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडियो खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन् । ती महिलाहरु चउरमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा चरेको जस्तो देखिन्छन् ।

विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई दक्षिण कोरियाको विद्यमान ‘मोल्का’ प्रवृत्तिसँग दाँजिएको छ । गैरकानुनी ढंगले अन्य व्यक्तिको लुकेर भिडियो खिच्नुलाई दक्षिण कोरियामा मोल्का भनिन्छ । परम्परागत रुपमा यसलाई अनैतिक र असभ्य मानिन्छ ।