जनता टाइम्स

१ पुष २०७८, बिहीबार १५:५५

कांग्रेसमा क्रान्ति : बिश्वप्रकाशले रचे नयाँ इतिहास


काठमाडौं, पुस १ । नेपाली कांग्रेसको महामन्त्रीमा जीत निकाल्दै युवा नेता विश्वप्रकाश शर्माले नयाँइतिहास रच्नुभएको छ । सभापति शेरबहादुर देउवाले धोा दिएपछि प्रकाशमान सिंह समुहबाट महामन्त्रीको उम्मेद्वार बन्नुभएका शर्माले स्वतन्त्र उम्मेद्वार बनेर जीत निकाल्नु भएको हो ।

सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला प्यानलबीच प्रमुख प्रतिस्पर्धा हुँदा देउवातिरै बिलय हुनुभएका सभापतिका उम्मेद्वार प्रकाशमान सिंहलाई बोकेर महामन्त्रीमा चुनाव लडेर जितेपछि शर्माले नयाँ इतिहास कायम गर्नुभएको हो । बिश्वप्रकाशको यो जीतलाई नेपाली कांग्रेसभित्र क्रान्तिको रुपमा हेरिएको छ । शर्मा भन्दा बढी मत ल्याएर गगन थापाले महामन्त्रीमा चुनाव जिते पनि उहाँ डा. शेखर कोइराला समुहबाट उम्मेद्वार बन्नुभएको थियो । सभापतिमा सवै मिलेर घेरावन्दी गर्दा पनि कोइरालाले ४० प्रतिशत भन्दा बढी मत ल्याउनु भएको छ ।

कोइरालाको सो मत शेखर समुहको प्यानल मत पनि हो तर सभापतिमा ३७१ मत मात्रै पाउनु भएको थियो । दुई प्रमुख टीमबीच प्रतिस्पर्धा हुँदा महामन्त्रीमा बिश्वप्रकाशको जीतले धेरैलाई चकित पारेको हो । यो परिणामसँगै कांग्रेसभित्र बिश्वप्रकाश निर्बिकल्प नेता रहेको तथ्य पनि उजागर गरेको छ ।

यस्तो छ शर्माको राजनीतिक यात्रा

युवा नेता विश्वप्रकाश शर्माको जन्म विस ६ पुस २०२७ सालमा झापाको शान्तिनगरमा भएको हो । बुवा परशुराम भण्डारी र आमा सावित्रा भण्डारीका छोरा शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी छन । २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका शर्मा नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको महामन्त्री र अध्यक्ष भइसक्नु भएको छ । सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रुपमा पनि परिचित हुनुहुन्छ ।

१३औं महाधिवेशनबाट केन्द्रीय सदस्यका साथै पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेका शर्मा १४औं महाधिवेशनमा पार्टीको कार्यकारी पद महामन्त्रीमा निर्वाचित हुनुभएको हो । उहाँ अघिल्लो आम चुनावमा झापा क्षेत्र नम्बर १ बाट राम कार्कीसँग पराजित हुनुभएको थियो । संसदीय प्रतिस्पर्धामा पराजित शर्मा पार्टी प्रतिस्पर्धामा भने अब्बल देखिनु भएको छ । युवा प्रतिनिधिको लोकप्रिय मत पाउनु भएको छ । ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’को नारा उहाँको थियो ।

पार्टी प्रवक्ता बनाए पनि कृष्ण सिटौलासँगको सहकार्यले शेरबहादुर देउवाले टिकट नदिँदा शर्मा प्रकाशमान सिंह टिमबाट प्रतिस्पर्धामा होमिनु भएको थियो । टीमबाटै धोका पाएपनि महामन्त्रीमा गर्विलो जीत निकालेर शर्माले इतिहास रच्नुभएको हो ।