जनता टाइम्स

२ पुष २०७८, शुक्रबार १६:१२

एमालेको अडान : संसद खुलाउन सभामुखले राजीनामा दिनुपर्छ


काठमाडौं, पुस २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसदको गतिरोध हटाउनका लागि सभामुख अग्नीप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरुको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पार्नु भयो ।

महासचिव पोखरेलले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा संसदको अवरोध नहटेसम्म एमसीसीलगायतका कुनै पनि विजनेस संसदमा प्रवेश गर्न नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘एमसीसीको सन्दर्भका बारेमा सरकारले के गर्छ भन्ने विषय नै अहिलेसम्म टुंगो लागेको छैन । किनकी न संसदले कार्यसूचिमा राखेको छ, न सरकारले हामीलाई केही बताएको छ । र संसद प्रतिनै हाम्रा केही प्रश्नहरु छन । जुन कुरा तपाईहरुले थाहा पाईसक्नु भएको छ ।

वास्तवमा भन्ने हो भने संसदको गतिरोधसँग जोडिएर हामीेल हाम्रा कुराहरु राखि राखेका छौं । विशेषगरी हामीले के भनेको छौं भने पार्टीको तर्फबाट कारबाही गरेका सदस्यहरुलाई सभामुखले सूचनामात्रै प्रकाशित गर्नुपर्ने अधिकार पाएको सभामुखले अन्यथा गरेको कुराप्रति हाम्रो असहमती छदैछ । अर्कोतर्फ निर्वाचन आयोगको प्रक्रियाप्रति पनि हाम्रो असहमती छ । त्यसैगरी हामीे असहमती प्रकट गर्दै अदालतमा त्यस विषयमा मुद्धा दर्ता गरेका छौं । यस अर्थमा हाम्रो भनाई के हो भने–जवसम्म यी विषयहरुको सम्बोधन हुँदैन । हामीले कारबाही गरेका सदस्यहरुलाई राखेर संसद चलाउने काम हुन्छ । त्यसमा हाम्रो असहमती रहन्छ । असहमती रहँदै आएको छ । यात सभामुखले नैतिक आधारमा सच्याउन नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्ने ।

उहाँले अव मैले यसो गरिसके पछाडि हटन सक्दिन भन्ने हो भने संसद चलाउने कर्तव्य उहाँको पनि हो । त्यस अर्थमा उहाँले चाँही मार्ग प्रशस्त गरेर राजीनामा दिने हो भने नयाँ प्रक्रियाको सुरुवात हुन्छ । यात उहाँले जे कमजोरी गर्नु भएको छ, त्यो सच्याउने । त्यसो हो भने संसदको प्रक्रिया अगाडि बढछ । अन्यथा संसदको प्रक्रिया अगाडि बढन सक्दैन भन्ने कुरा हामीले अडान राख्दै आएका छौं । अर्को सर्वोच्च अदालतमा हामीले जुन मुद्धा दर्ता गराएका छौं । त्यसको फैसला नहुन्जेलसम्मका लागि त स्वभाविक रुपमा फैसला भो भने हामीले मान्य गरेका छौं । सर्वोच्चको निर्णयलाई मान्य गरेका छांै । न सर्वोच्चले फैसला गरिराख्या छ ।

न सभामुखले गल्ती सच्याउने काम गर्नु भएको छ । न त उहाँले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्ने काम गर्नु भएको छ । यो प्रक्रिया नटुंगिकन स्वभाविक रुपमा अन्य विषयहरुमा नेकपा एमाले प्रवेश गर्दैन । त्यसकारण अहिले एमालेका लागि प्राथमिक विषय संसदको अवरोध हटाउनका लागि सत्ता पक्षबाट भूमिका खेल्नुपर्छ भन्ने नै हो । .जव अवरोध अन्त्य हुन्छ, त्यसपछि हामी विजनेश भित्र प्रवेश गछौं ।’

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताउनु भयो । माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उहाँको भनाई थियो ।