१५ असार २०७६, आईतबार ००:००

अफगानिस्तानमा दश लडाकू मारिए


गार्डेज, असार १५

अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा दश जना तालिबान लडाकू मारिएका छन् । देशको पाक्तीया प्रान्तमा पर्ने गार्डासिरा जिल्लामा भएको हवाई कारबाहीमा परी उनीहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ता सर्दार वली तबासमले आइतबार जानकारी दिनुभयो ।

गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षाकर्मीहरुले शनिबार राती गार्डासिरा जिल्लाको सारखिलो क्षेत्रमा आक्रमण गरेका हुन् । घटनास्थलबाट सुरक्षाकर्मीहरुले केही हातहतियारहरु समेत बरामद गरेको प्रवक्ता तबासमले जानकारी दिनुभयो । उहाँका अनुसार स्थलगत रुपमा गएका सुरक्षाकर्मीहरुले अरु दश जनालाई गिरफ्तार पनि गरेका छन् । घटनाका बारेमा तालिबान लडाकूहरुको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।