जनता टाइम्स

६ पुष २०७८, मंगलवार १७:५३

कांग्रेस सभापति, महामन्त्री र शशांकलाई उछिनेकी मुक्ताले कसरी पाइन् सर्वाधिक पपुलर भोट ?


काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतका निर्वाचनमा धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गर्नुभएको छ । ७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक मत ल्याउनुभएको छ । मधेशी महिलातर्फ एक नम्बरमा केन्द्रीय सदस्यमा विजयी हुनुभएको मुक्ताले ३९६० मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो । यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री एवं विपी पुत्र शशांक कोइरालाले ३८३६ मत प्राप्त गर्नुभएको थियो । शशांकभन्दा पनि अगाडि बढेर मुक्ताले १२४ मत बढी ल्याउनुभयो । मुक्ताले लोकप्रिय ३०२३ मत पाउनुभएको महामन्त्री गगन थापालाई पछि पार्दै उछिन्नुभएको हो ।

२७३३ मत पाएर निर्वाचित सभापति शेरबहादुर देउवालाई पनि उछिन्नुभएको मुक्ताले कसरी यति धेरै मत ल्याउनुभयो भनेर कांग्रेसमा चर्चा सुरु भएको छ । यसको पछाडिको कारण भनेको मुक्ता उम्मेदवारी दिँदा कुनै समूहमा खुल्नुभएको थिएन । सामाजिक सञ्जालमासमेत उम्मेदवारीको जानकारी गराउँदा मुक्ताले समूह खुलाउनुभएको छैन ।

मधेसी महिलातर्फ समूहगत उम्मेदवारको नामावली हेर्ने हो भने सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र उपसभापति विमलेन्द्र निधि गरेर तिनवटै प्यानलमा उहाँको नाम थियो । त्यसैकारण आफूलाई सर्वाधिक मत आएको उहाँको निष्कर्ष छ । धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर–१ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गर्नुभएको उहाँ निवर्तमान सदस्य हुनुहुन्छ ।