जनता टाइम्स

७ पुष २०७८, बुधबार १८:०४

राजेन्द्र लिङ्देनलाई झापाबाटै विश्वप्रकाशको सुझाव : राजतन्त्र फर्काउने भ्रम त्यागौं


झापा, ७ मंसिर । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्लामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै नेपालीले राजतन्त्र पनि खेपिसकेको बताउनुभयो ।

‘राजालाई हामीले नबोकेको हो ? भागेर दिल्ली गएका राजालाई काँधमा बोकेर ल्याउने पनि कांग्रेस, राजा वीरेन्द्रको वंशनास हुँदा ढुंगामुडा सहेर पनि गद्दी बसाउने कांग्रेस,’ उहाँले भन्नुभयो, ‘राजाले कांग्रेसको काँधमा बस्ने अनि लोकतन्त्रमाथि प्रहार गरेको पनि देखियो । अहिलेको व्यवस्था ठीक छ । कोही जनताको छोरी राष्ट्रपति बनिन् । मधेशमा हुर्किएका रामवरण यादव यो देशको राष्ट्रपति भए । के मधेशको सम्मान र स्वाभिमान बढेको छैन ? भोजपुरको गाउँमा कम्युनिस्ट आन्दोलनकी सदस्य भएर काम गरिरहेकी विद्या भण्डारी देशको राष्ट्रपति बन्दा महिलाको सम्मान र स्वभिमान बढेको छैन ? राजतन्त्र फर्काउनु भनेको यो देशमा कहिले दलितको छोराले राष्ट्रपति बन्न नपाउनु हो ।’

उहाँले कुनै राजनीतिक दलको नेतालाई राजतन्त्र फर्कने भ्रम भए त्याग्न आग्रह गर्नुभयो । राजतन्त्र फर्कने र अन्य कुनै राजनीतिक व्यवस्था ल्याउने सपना नदेख्न उहाँले आग्रह गर्नुभयो । यस्तै, एक दलीय कम्युनिस्ट व्यवस्थामा जान कोही पनि तयार नहुने बताउनुभयो । कम्युनिस्ट शासनले देश बनाउन नसक्ने उहाँले सुनाउनुभयो । जसको उदाहण उत्तर कोरिया भएको बताउनुभयो । यस्तै, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीबाट पनि देशको विकास हुन नसक्ने उहाँको भनाइ छ ।

त्यस्तै उहाँले थप्नुभयो,‘अहिलेको संसदीय व्यवस्थामा केही कमजोरी र खराबी छन् । यसलाई सुधार गरेर जानुपर्छ ।’ उहाँले अहिलेको व्यवस्थाले सबैलाई समेट्ने बताउनुभयो । ‘यो व्यवस्थामा राजतन्त्र जिन्दावाद र गणतन्त्र मुर्दावाद भन्न पनि पाइन्छ,’ उहाँले थप्नुभयो, ‘बन्दुक बोक्ने प्रचण्ड पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ । पञ्चायत जिन्दावाद भनेर हिँडेका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ ।’ उहाँले व्यवस्था ठीक भएको र अब अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । आफू महामन्त्री भएपछि विगतमा गरेका वाचा पूरा गर्न प्रतिबद्ध भएको उहाँको भनाइ थियो । उहाँले विगतमा ठूला राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।