जनता टाइम्स

१६ असार २०७६, सोमबार ०९:५८

पूर्वआयुक्त पाठकका सहयोगी झाविरुद्ध विशेष अदालतमा मुद्धा दायर


काठमाडौं, असार १६

७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ।

आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो। अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन्। स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरेको अनुसन्धान अधिकृतको दाबी छ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै सञ्चालक लम्बोदर न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि आयुक्त पाठकले राजीनामा दिएका थिए। राजीनामापछि आयोगले २०७५ चैत १२ गते पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगो र कैद सजाय मागसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। न्यौपानेविरुद्ध पनि ७८ लाख बिगो र कैद सजाय मागसहित दायर मुद्दा विशेषमै विचाराधीन छ। आयोगले पाठकका नजिकका सहयोगीको समेत सम्पत्तिमाथि छानबिन गरिरहेको स्रोतले बतायो।

आयोगले पाठकविरुद्ध बहालमा छँदा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आशंकामा छानबिन गरिरहेको छ। छानबिनकै क्रममा नासु झा र उनकी पत्नी सुचितादेवीका नाममा पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति फेला परेको आयोग उच्च स्रोतले जानकारी दियो। ‘आयुक्त रहँदा पाठकले पदको दुरुपयोग गरी आफूसँग नजिक भएका कर्मचारीमार्फत सेवाग्राही र आरोपित व्यक्तिबाट रकम उठाउने गरेको उजुरी परेको थियो,’ आयोग स्रोतले भन्यो, ‘त्यसमा छानबिन गर्नेक्रममा पाठक र झाबीच लेनदेन तथा रकम जम्मा गर्नेसम्मको सम्बन्ध फेला पर्यो।’

आयोगले नासु झा र उनकी पत्नी सुचितादेवीलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा अकुत सम्पत्ति आर्जन अभियोगमा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बिगो असुल, त्यति नै बराबर जरिवाना र कैदसजाय माग दाबीसहित मुद्दा दायर गरेको छ।

हाल इलाका प्रशासन कार्यालय बर्दिबास (महोत्तरी) मा कार्यरत झाले तत्कालीन आयुक्त पाठकलाई घुसबापतको रकम उठाएर बुझाउने गरेको बयान पनि आयोगसमक्ष दिएका छन्। झा धनुषाका स्थानीय हुन्। तर आफूसँग भएको सम्पत्ति पाठकको नभएको जिकिर उनले बयानमा गरेका छन्। ‘तत्कालीन आयुक्त पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति खोजबिन गरिरहेका थियौं,’ आयोग उच्च स्रोतले भन्यो, ‘नासु झा र उनकी पत्नीसँग बयान लिने क्रममा हामीले शंका गरेको विषय पुष्टि हुन आयो।’

‘उहाँलाई कहिलेकाहीं रकम उठाएर बुझाएको हो तर मेरा नाममा भएको सम्पत्ति उहाँको होइन,’ झाको बयान उल्लेख गर्दै स्रोतले भन्यो, ‘तर दाबी जे गरे पनि पाठकले झाका नाममा सम्पत्ति लुकाएको देखियो।’ २०४० असार १७ गते निजामती सेवा प्रवेश गरेका झाले सम्पत्ति विवरण बुझाउने क्रममा जेठ मसान्तसम्म २ करोड २८ लाख ६४ हजार २ सय ८ रुपैयाँबराबरको चलअचल सम्पत्ति देखाएका थिए।

तर आयोगको अनुसन्धानपछि झा र उनकी पत्नी सुचिता तथा अन्य सदस्यका नाममा ३ करोड ८५ लाख ४३ हजार २ सय ३४ रुपैयाँको सम्पत्ति देखिएको आयोगका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। अनुसन्धान स्रोतका अनुसार झा र उनको परिवारका नाममा भएको स्रोत नखुलेको सम्पत्ति पनि पाठकको हो।

पाठकसँग सम्बन्ध भएका अन्य कर्मचारीको सम्पत्ति पनि आयोगले छानबिन गरिरहेको छ। प्रवक्ता कोइरालाले भने अनुसन्धान भइरहेका विषयमा प्रतिक्रिया दिन नमिल्ने बताए। (नागरिक दैनिक)