जनता टाइम्स

१० पुष २०७८, शनिबार ०८:४५

‘क्रिसमस डे’ : प्रेम, शान्ति र मुक्ति दिवसका रुपमा मनाइँदै (क्रिसमस-डे सँग जोडिएको मान्यता)


काठमाडौँ, पुस १० । आज क्रिसमस दिवस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । आजको दिनलाई प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाउने गरिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सीबी गहतराजले जानकारी दिनुभयो ।

क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

नेपालमा २०६३ सालपछि महोत्सवको रुपमा दिवस मनाउन थालिएको हो । काठमाण्डौको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिक स्थल सजाइएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा क्रिसमस महोत्सव, २०७८ आयोजना गरिएको छ ।

क्रिसमससँग जोडिएर आउने विभिन्न संकेतहरु छन् । जस्तो हरियो रुखमा हिउँ परेको आकृति, रातो र सेतो रंग मिसिएको सान्ता क्लज र अरु पनि त्यस्ता परम्पराहरु क्रिसमससँग जोडिएर आउने पर्वहरु हुन् । तिनै पर्वहरुको महत्व र सुरुवातको विषयमा हामीले सामान्य जानकारी दिने प्रयास गरेका छौं ।

क्रिसमसको विषयमा मिस्र र रोमका मानिसहरुको मत

मिस्र र रोमको पुरानो सभ्यतासँग सम्बद्ध व्यक्तिहरू हरियो बोटबिरुवा र रूखहरूद्वारा घरहरू सजाउँथे, जुन वर्षभर हरियो हुन्छ । उनीहरुको विश्वास थियो कि त्यसो गर्नाले सो घरमा बोक्सीहरुको कुनै असर पर्दैन । दुष्टात्मा, भूत र रोगहरू टाढा भाग्छन् । पुरातन इजिप्ट र रोमका मानिसहरू सदावहार बोटबिरुवाको शक्ति र सौन्दर्यमा विश्वास गर्थे । सोही समयदेखि नै घरघरमा सधैं हरियो हुने बिरुवा राख्न सुरु भयो ।

क्रिसमसको विशेष पहिरन सम्बन्धी व्यवस्था

जर्मनीमा यो परम्पराको सुरुवात सन् ७२२ को आसपासबाट सुरु भएको मानिन्छ । जर्मनीको सेन्ट बोनिफेसले केही दुष्ट व्यक्तिले एउटा विशाल रुख मुनि बच्चाको बलि चढाउने गरेको कुरा थाहा पाए । सेन्ट बोनिफेसले बच्चालाई बचाउनको लागि भनेर त्यो रुख नै काटिदिए । तर, सोही रुखको नजिकै अर्को एउटा रुख बढ्न सुरु भयो । सेन्ट बोनिफेसले मानिसहरूलाई यो एउटा पवित्र रूख हो भन्दै प्रचार गर्न सुरु गरे । उनले रूखका हाँगाहरू स्वर्गतिर फर्किएको भन्दै भगवानसँग रुखको तुलना गरे । यसले रूखको बारेमा व्यक्तिहरूको दिमागमा धेरै आदर उत्पन्न गराउँदै लग्यो ।

मार्टिन लुथरसँग जोडिएको कथा

मानिसहरूले यसलाई १६ औं शताब्दीका महान् ईसाई सुधारक मार्टिन लूथरसँग पनि जोेड्ने गरिन्छ । तर, यो प्रमाणित छैन । यस कथा अनुसार सन् १५०० तिर क्रिसमसको पूर्वसन्धामा उनी एउटा हिउँले ढाकेको जंगल हुँदै हिँडिरहेका थिए । बाटामा उनले हिउँले चम्किरहेको एउटा रूख देखे । रूखका हाँगाहरू हिउँले भरिएका थिए र चन्द्रमामा चम्किरहेका थिए । त्यसबाट प्रभावित भएका उनी जब घर आए । उनले आफ्नो घरमा सल्लाको बोट लगाए । त्यसैमा धेरै मैनबत्तीहरु पनि बाले । उनले सो रुख जिसस क्राइस्टको सम्मानको लागि तयार पारेका थिए । त्यस समयदेखि क्रिसमस ट्रीलाई सजाउने परम्परा सुरु भएको हो ।

क्रिसमस रुख सजाउन कहिलेदेखि भयो सुरु ?

प्रिन्स अल्बर्टले पहिलो क्रिसमस रूख १८४१ मा इङ्ल्याण्डको विन्डसर क्यासलमा रोपेका थिए । भिक्टोरिया कालमा यी रूखहरूसँगै मैनबत्ती केक आदि रुखमा नै राख्ने गरियो । यो विश्वास गरिन्छ कि जब प्रभु येशूको जन्म भएको थियो । सो समयमा उनका बाबुआमाहरु मरियम र युसुफलाई बधाई दिनको लागि स्वर्गका प्रतिनिधिहरू पनि आएका थिए । सो अवसरमा उनीहरुले एउटा रूखमा ताराको प्रकाश परावर्तन गराएर चम्किलो बनाएका थिए । त्यहीँबाट क्रिसमस रूखको सजावटको प्रक्रिया सुरु भएको विश्वास छ । त्यही समयदेखि जसको घरमा यी रुखहरु लगाइन्छ उनीहरुको घरमा खुशीको बहार छाउने ईसाईहरुको विश्वास छ ।

बच्चाको दीर्घायुको विश्वास

मान्यता यो पनि छ कि क्रिसमस ट्मिा मैनबत्ती बाल्ने चलन १७ औं शताब्दीदेखि सुरु भएको हो । प्राचीन कालमा क्रिसमस ट्रीलाई जीवनको प्रतिक मान्ने गरिन्थ्यो । यो जीवनको निरन्तरता दर्शाउने प्रतिकको रुपमा पनि मान्ने गरिएको छ । त्यसकारण पनि यस दिन क्रिसमस ट्री घरमा सजाउँदा त्यसले बच्चाहरुको उमेर लामो हुने उल्लेख गरिन्छ ।

घरमा आउँछ सकारात्मक उर्जा

बास्तुको आधारमा पनि क्रिसमस ट्री जस्तै आकारको रुखहरु राख्दा त्यसले घरमा सकारात्मक उर्जाको विकास गराउँछ भन्ने मान्यता छ । त्रिकोणात्मक रुपमा तयार पारिएको त्यस्ता रुखहरु पञ्च महाभूत मध्येको अग्निको प्रतिक मान्ने गरिन्छ । यसकारण यसलाई सजाउँदा घरबाट नकारात्मक इनर्जीको सञ्चार हुने विश्वास गरिन्छ ।

सान्ता क्लज र क्रिसमसको सम्बन्ध के छ त ?

सान्ताको आधुनिक रुपको इतिहास त्यति लामो छैन । आजभन्दा डेढ हजार वर्ष पहिला जन्मेका सन्त निकोलसलाई असली सान्ता र सान्ताको अभिभावक मानिन्छ । १९ औं शताब्दीदेखि आधुनिक सान्ताको अस्तित्व सुरु भएको हो । सान्ता निकोलस र जिससको जन्मको सिधा सम्बन्ध छैन । तर, पनि आजको दिनमा शान्ता क्लज क्रिसमसको महत्वपूर्ण अंग बनेका छन् ।

सान्ता निकोलसको जन्म तेस्रो शताब्दीमा जिससको मृत्यु भएको २ सय ८० वर्षपछि मायरामा भएको थियो । उनी एउटा धनाड्य परिवारमा जन्मेका थिए । उनले बाल्यवस्थामै आफ्ना आमाबुबालाई गुमाएका थिए । बाल्यवस्थाबाट नै उनको प्रभु येशुप्रति आस्था थियो । उनी ठूला भएर ईसाई धर्मको पादरी ९पुजारी० पनि बने । उनलाई आवश्यकता भएका र बालबालिकालाई उपहार दिन एकदम राम्रो लाग्थ्यो ।

सान्ताको घर उत्तरी ध्रुवमा छ भन्ने मानिन्छ र उनी उड्न सक्ने रेनडियर्सको गाडीमा हिँड्छन् भन्ने विश्वास गरिन्छ । उनी विशेष गरेर आवश्यकता भएका र बालबालिकालाई उपहार दिन्थे । सन्त निकोलसले उपहार रातिको समय दिन्थे किनभने उनलाई आफूले उपहार दिँदै गरेको दृष्य कसैले देखेको मन पर्दैन थियो । उनी आफूलाई कसैले नचिनोस् भन्ने चाहन्थे ।

त्यसैले बालबालिकालाई छिट्टै सुताइदिने गरिन्थो । आज पनि धेरै ठाउँहरुमा यस्तो चलन रहेको छ । यदि बालबालिकाहरु छिट्टै सुतेनन् भने उनीहरुको शान्ता अंकलले उनीहरुलाई उपहार दिँदैनन भन्ने मानिन्छ ।

सन्त निकोलसको दयालु स्वभावको एउटा प्रख्यात कथा छ । जसमा उनले एक जना गरिबलाई सहयोग गरेका छन् । जोसँग आफ्ना तीन छोरीहरुको विवाहका लागि पैसा थिएन र बाध्यतावश उनले आफ्ना छोरीहरुलाई मजदुरी र देह व्यापारको दलदलमा पठाउँथे । तब निकोलसले कसैलाई थाहा नहुने गरी तीन जना छोरीहरुको सुकाइरहेको मोजामा सुनको सिक्काको थैली राखिदिए र उनीहरुलाई लाचारीको जीवनबाट मुक्त गराए ।

त्यही समयदेखि क्रिसमसको राति बालबालिकाहरु बिहान आफ्ना मोजाहरुमा सान्ताले उपहार राखिदिन्छ भन्ने आशमा मोजालाई बाहिर टाँगेर राख्न थाले । त्यसैगरी फ्रान्समा चिम्नीमा जुत्ता टाँगेर राख्ने प्रथा छ । हल्यान्डमा बालबालिकाहरु शान्ताको पर्खाइमा आफ्नो जुत्ताभरी गाजर राख्छन् ।

आज सान्ताको जुन प्रचलित नाम रहेको छ । त्यो निकोलसको डच नाम सिन्टर क्लासबाट उत्पत्ति भएको हो । जुन अहिले शान्ता क्लज भएको छ । जिसस र मदर मेरीपछि सन्त निकोलसलाई मात्र यति धेरै सम्मान प्राप्त भएको छ । सन् १२०० देखि फ्रान्समा ६ डिसेम्बरमा निकोलस दिवस मनाउन थालियो । किनभने त्यो दिन सन्त निकोलसको मृत्यु भएको थियो । अमेरिकामा सन् १७७३ मा पहिलो पटक सिन्ता सेन्ट ए क्लजको रुपमा सञ्चार माध्यममा प्रस्तुत भएका थिए ।

आजको आधुनिक युगको शान्ताको अस्तित्व सन् १९३० मा आएको हो । हेडन सन्डब्लोम नामक एउटा कलाकार कोकाकोलाको विज्ञापनमा शान्ताको रुपमा ३५ वर्षसम्म देखिएका थिए । शान्ताको त्यो नयाँ अवतार मानिसहरुलाई धेरै मन पर्‍यो र अन्तिममा त्यसलाई शान्ताको नयाँ रुपलाई स्वीकार गरियो, जुन आज मानिसहरुबीच अति नै प्रख्यात छ ।

यस प्रकार विस्तारै(विस्तारै क्रिसमस र शान्ताको साथ गहिरिँदै गयो र शान्ता विश्वमा नै प्रख्यात हुनुको साथ(साथै बालबालिकाको लोकप्रिय पात्र बने । आज पनि शान्ता आफ्नो श्रीमती र पुड्का मानिसहरुसँग उत्तरी ध्रुवमा बस्छन् भन्ने मानिन्छ । त्यहाँ एउटा खेलौनाको उद्योग छ, जहाँ सबै किसिमका खेलौनाहरु बनाइन्छ ।