जनता टाइम्स

१६ असार २०७६, सोमबार ११:०१

भक्तपुर महिला हत्याकाण्ड : छोरी र प्रेमीले १२ लाख दिएर हत्या गर्न लगाएको खुलासा


काठमाडौं, असार १६

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि ६० वर्षीया महिलाको हत्या आफ्नै छोरीको योजनामा भएको खुलेको छ ।

ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको अवस्थामा आइतवार शव फेला परेको थियो । ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको डेढतले घरमा बस्दै आउनुभएकी भट्टराईको उनकै छोरी इश्वरी भट्टराईको योजनामा उनका प्रेमीसहित ३ जनाले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

हत्या अनुसन्धानमा जुटेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरीसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाका मोहम्मद नौशाद छन्। उनलाई प्रहरीले आइतबार राति धादिङको गजुरीबाट पक्राउ गरेको हो। हत्या हुनुको कारण छोरी उनका प्रेमीबीचको ‘सम्बन्ध’ रहेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो।

श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन्। ‘छोरी र उनका प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि हत्या गरिएको प्रारम्भिक जानकारी छ,’ अपराध महाशाखा स्रोतले भन्यो। प्रहरीका अनुसार नासिदले महिलाको हत्या गर्न भारतबाट दुई जनालाई काठमाडौं बोलाएका थिए। हत्या गरी हेटौडा पुगेका ती दुबैलाई प्रहरीले समातेको छ। उनीहरु मोहम्मद रहिश र भोला कुमार थिए।

हत्यामा संलग्न छोरी ईश्वरी भट्टराई छिन्। उनी भक्तपुरकै गार्मेन्ट कारखानामा काम गर्थिन्। सोही क्रममा नासिदसँग भेट भएको थियो। आमाले दुईबीचको सम्बन्ध मन नपराएका कारण नासिदले हत्या योजना बनाएको महाशाखाले जनायो। हत्यामा संलग्नलाई उनिहरुले १२ लाख रुपैयाँ दिएको पनि प्रहरीले खुलाएको छ ।