जनता टाइम्स

११ पुष २०७८, आईतवार ०९:५३

माओवादीको राष्ट्रिय महाधिवेशनमा १६ सय ३१ जना प्रतिनिधि, यस्तो छ प्रदेशगत संख्या (सुचीसहित)


काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा १ हजार ६ सय ३१ जना प्रतिनिधि सहभागी हुने भएका छन । नियमित प्रक्रियाबाट चयन भएका एक हजार ४८३ जना प्रतिनिधि र १० प्रतिशत मनोनयन गर्दा महाधिवेशन प्रतिनिधि १६ सय ३१ पुगेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादीले १० प्रतिशत प्रतिनिधि चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।

यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ ।अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या एक हजार ६३१ जना पुग्नेछ । माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी आइतबारबाट काठमाडौंमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट चयन नगर्ने सम्भावना बढेको छ ।

राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा केही घण्टामात्र अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । उक्त राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी पछि चयन गर्ने सम्भावना रहेको माओवादी केन्द्रका एक शीर्ष नेताले बताए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई पदाधिकारीलाई पूर्णना दिन अनिच्छा व्यक्त गरेको स्रोतको दाबी छ ।

महाधिवेशन नेतृत्व चयन भन्दा पनि विचारको बहसमा केन्द्रीत गर्नुपर्ने प्रचण्डको भनाइ छ । उहाँले महाधिवेशनमा पेस गर्ने प्रस्तावसमेत स्थायी कमिटीमा पेस गर्नुभएको थियो । बैठकमा प्राप्त सुझावका आधारमा त्यसलाई पूर्णता दिइएको छ । यसअघि २०६९ माघमा मकवानपुर जिल्लाको हेटौंडामा आयोजना गरिएको सातौं महाधिवेशनको मोडेलमा नेतृत्व चयन गर्ने तयारी प्रचण्डले गरेका छन् । प्रचण्डलाई चुनौती दिने नेतृत्व माओवादीमा तयार नभएकाले उहाँले चाहे अनुरुप हुनेमा शंका छैन ।