काठमाडौँ, ११ पुस । नेकपा माओवादी केन्द्रका नेताहरुले आफ्नो विचारमाथि दमन नगर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । आइतबार बिहान भएको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले वैचारिक विषयमा आफ्नो धारणा रहेको भन्दै त्यसलाई महाधिवेशनमा प्रस्तुत गर्न पाउनु पर्ने माग गरेका छन् ।
पेरिसडाँडामा भएको बैठकमा राम कार्की, परशुराम तामाङ, धर्मदत्त देवकोटासहितका नेताहरुले वैचारिक विषयमा आफूले अघि सारेको धारणामाथि महाधिवेशनमा छलफल हुनुपर्ने माग गर्नुभएको हो । वैचारिक विषयमा हाम्रो पनि धारणा रहेको भन्दै त्यसलाई पनि महाधिवशेनमा लैजानु पाउनुपर्ने माग केन्द्रीय सदस्यहरुले गर्नु भएको थियो, बैठकपछि एक केन्द्रीय सदस्यले भन्नुभयो , उहाँहरुले आफ्नो विचारमाथि दमन नगरियोस् भन्ने कुरा उठाउनु भएको थियो ।
बैठकमा देवकोटाले साउनमा भएको केन्द्रीय समितिमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल नै नभएको गुनासो गर्नुभएको थियो । अध्यक्षको प्रतिवेदनमा मैले उठाएको विषय समावेश रहेछ भने केही छैन । नत्र मेरो वैचारिक विषयमा फरकमत महाधिवेशनमा जान्छ, देवकोटालाई उद्धृत गर्दै एक नेताले भन्नुभयो ।
उहाँले विचारमाथि दमन नगर्न अध्यक्ष प्रचण्डसँग आग्रह गर्नु भएको थियो ।देवकोटाले महाधिवेशनले हार वा जीत जे निर्णय गर्छ त्यसलाई स्वीकार गर्ने तर महाधिवेशनमा आफ्नो विचार राख्न पाउनु पर्ने बताउनुभएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले कसैको विचारलाई पनि नदबाइने बताउनुभएको थियो। बन्द सत्र हलमै धारणा राख्न दिने कुरा गर्नुभएको छ एक केन्द्रीय सदस्यले भन्नुभयो । तर महाधिवेशनमा प्रस्तुत गर्ने अध्यक्ष दाहालले प्रस्तुत गर्ने तयार पारेको राजनीतिक प्रतिवेदनलाई आइतबार पनि केन्द्रीय सदस्यहरुलाई उपलब्ध गराइएको छैन ।केन्द्रीय कमिटीको बैठकमा अध्यक्षमा प्रचण्डले आफ्नो प्रतिवेदनको बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो ।
केन्द्रीय कमिटीमा वितरण गर्दा सञ्चार माध्यममा चुहिने भन्दै एकै पटक महाधिवेशनको बन्द सत्रमा दिइने अध्यक्षले जानकारी गराउनु भएको थियो,ती सदस्यले भन्नुभयो ।बैठकमा अध्यक्ष प्रचण्डले वैचारिक विषयमा अन्य दलको भन्दा बढी नै छलफल भएको भन्दै अन्य दलले महाधिवेशन भन्दा माओवादीले किन राष्ट्रिय सम्मेलन मात्रै भनेर जाने भन्दै तर्क गरेका थिए ।माओवादी केन्द्रको शनिबार भएको स्थायी कमिटीको बैठकले प्रथम एकता राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणात गर्ने प्रस्ताव गरेको थियो।।













प्रतिक्रिया दिनुहोस्