जनता टाइम्स

१६ असार २०७६, सोमबार ११:३१

सरकारले शुरु गर्यो विदेशमा रहेका नेपालीको उद्धार : कोमामा रहेका ढकाललाई स्वदेश ल्याइयो


काठमाडौं, असार १६

सरकारले केही दिनअघि विदेशका विभिन्न मुलुकमा कोमामा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको थियो । तर, धेरैले यसलाई सरकारी प्रचारको नयाँ रुपमा भन्दै आलोचना गरे । तर, त्यसको केही समयपछि एक नेपालीलाई स्वदेश ल्याइएको हो ।

वैदेशिक रोजगार बोर्डको समन्वय र आर्थिक सहयोगमा दक्षिण कोरियाको अस्पतालमा कोमामा उपचाररत झापाका ओमनाथ ढकाललाई स्वदेश ल्याइएको छ । असार ८ गते विदेशमा कोममा उपचाररत नेपाली कामदारलाई स्वदेश ल्याउने निर्णयभएसँगै ढकाललाई गएको शुक्रबार नै स्वदेश ल्याइएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

बोर्डको निर्णयपश्चात नेपाली नियोग र अस्पतालसँग समन्वय गरेर ढकाललाई स्वदेश ल्याउन १५ लाख रुपैयाँ पठाएको थियो । आर्थिक समस्याका कारण ढकाललाई नेपाल ल्याउन समस्या भइरहेको थियो । ईपीएस प्रणली अन्तर्गत दक्षिण कोरिया जानुभएका ढकाल दुर्घटनामा पर्नुभएको थियो । चोटका कारण ब्रेन हेमरेज भएकाले उहाँ ६ महिनादेखि बुसानको नेशनल युनिभर्सिटी अस्पतालमा आइसीयूमा उपचार भैरहेको थियो ।

वीर अस्पलातले उपचार गराउन सकिन्छ भन्ने पत्र उपलब्ध गराएपछि बोर्डले परिवारको बिशेष आग्रहमा डाक्टर पठाएर नेपाल फर्काएको कार्यकारी निर्देशक श्रेष्ठले जनाकारी दिनुभयो । नेपाल ल्याउने क्रममा कुनै भबितव्य परेमा परिवारनै जिम्मेवार हुने, कुनै विषेश व्यवस्था नहुँदासम्म लाग्ने खर्च परिवारले नै व्यहोर्नेसहमति परिवारसँग गरेर बोर्डले ढकाललाई स्वदेश फर्काएको हो । ढकालको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।