काठमाडौं, १२ पुस । प्रहरीको मोटरसाइकल लिएर फरार घोराही कारागारका नाइके २८ वर्षीय यमराज परियारलाई भगाउन युवतीको प्रयोग भएको पाइएको छ। ‘सिसी टिभी फुटेजले युवतीको संलग्नता पुष्टि भएको हो,’ एक प्रहरी अधिकारीका अनुसार उक्त योजनामा युवतीको प्रयोग गरि उसलाई भगाइएको स्पष्ट जस्तै भइसकेको छ।’ परियारलाई भगाउन भूमिका खेलेको भन्दै प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।
बिहीबार बिहान ११ बजेतिर कारागारबाट स्वास्थ्य उपचारका लागि भनेर प्रहरी जवान धनबहादुर चौधरीले आफ्नो लु १४ प ४१० नम्बरको मोटरसाइकलबाट कारागारका नाइके यमराज परियारलाई उपचार गर्न लगेका थिए। चौधरीले परियारलाई सोझै अस्पताल नलगेर घोराहीस्थित प्याराडाइज होटेल एण्ड रेष्टुँरामा खाजा खान लगेका थिए।
त्यसपछि एउटा रेष्टुँरामा नास्ता खाने क्रममा नाइके परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर फरार भएका थिए।‘खाजा खाने क्रममा प्रहरी जवान चौधरीलाई युवतीसँग भुलाएर परियार भागेको देखिएको छ,’ ती प्रहरी अधिकारीले भने, ‘प्रहरीले सोमबार बेलुकासम्म घटनाबारे अध्ययनबाट प्राप्त विवरण सार्वजनिक गर्नसक्छ।’कारागारका नाइके परियारलाई भगाउन युवतीको प्रयोग हुनुमा योजनाबद्ध रूपमा काम भएको अनुसन्धानमा खटिएका ती अधिकारीले दाबी गरे।
यता जिल्ला कारागार घोराहीका जेलर युवराज परियार जिल्ला प्रशासन कार्यालयमा तानिएका छन्।कारागारका नाइके यमराज परियार भागेपछि जेलर परियारलाई जिम्मेवारीबाट मुक्त गरी आइतबारदेखि जिल्ला प्रशासन कार्यायमा तानिएको हो। कारागारका जेलर पुस ६ गतेदेखि १३ गतेसम्म बिदामा बसेका थिए।
तर, त्यहीँ बिचमा बिदा बसेका जेलर परियारले कारागारका नाइके यमराजलाई पुस ८ गते आएर आफैं औषधि उपचारका लागि जान दिएका थिए।‘जेलर युवराजको भूमिका निकै संकास्पद देखियो,’ घटना अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘उहाँले नै आफूखुसी यमराजलाई कारागारको नाइके पनि तोकेकाले घटना थप रहस्यमय देखिएको छ।’ती प्रहरी अधिकारीका अनुसार जेलर परियारले नाइके परियारलाई कारागार मात्रै होइन आफ्नो कार्यालयमा आउन–जान तथा सँगै उठबसमा पनि पुरै स्वतन्त्रता दिएका थिए।
प्रहरी अधिकारीका अनुसार राजपुर गाउँपालिका बेलकाका यमराज परियारले कतर्व्य ज्यान मुद्दामा जेल परेका थिए।प्रहरीका अनुसार, २०७१ जेठ २२ गते साविक सतवरिया गाविसकी २३ वर्षीया ४ महिनाकी गर्भवति हेमा चौधरीको हत्या आरोपमा उनी जेल परेका हुन्।













प्रतिक्रिया दिनुहोस्