जनता टाइम्स

१२ पुष २०७८, सोमबार १७:०७

अनुदानमा आएको भ्याक्सीनमा सिरिञ्ज नदिएपछि खोप अभियान तत्कालका लागि स्थगित


काठमाडौँ, १२ पुस । खोपका लागि सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिञ्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।’

उहाँले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गर्नुभयो। उहाँका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । ‘खोप, सिरिञ्ज, डाइलुएन्ट सबै सँगै दिनुपर्ने हो । डाइलुएन्ट पनि २९ तारिखमा आउँदैछ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ ,’ उहाँले भन्नुभयो ।सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने उहाँले बताउनुभयो । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।