काठमाडौं, पुस १२ । हिजो मात्रै सुरु भएको आठौं महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसी यथास्थितिमा पारित नहुने बताउनुभएको छ ।
उहाँले आज पार्टी महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै एमसीसी यथास्थितिमा कुनै हालतमा पनि पारित नहुने बताउनुभएको हो । प्रचण्डले राजनीतिक प्रतिवेदनमा भन्नुभएको छ ,‘एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ । यथास्थितिमा कुनै पनि हालतमा पारित हुँदैन ।’ माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्नुपर्नेमा जोड दिएको भोलिपल्ट प्रचण्डले राजनीतिक प्रतिवेदनमा यथास्थितिमा पारित नहुने उल्लेख गर्नुभएको हो । देउवाले एमसीसी ‘राष्ट्रघाती भएको देखाइदिन’ चुनौती समेत दिनुभएको थियो । प्रचण्डले भने देउवाको सबै भनाईको प्रशंशा गरेपनि एमसीसीबारे अभिव्यक्तिमा विमति राख्नुभएको थियो । सत्ता गठबन्धनमा रहेका देउवा र प्रचण्डबीच एमसीसीमा विवाद स्पष्ट खुलेको छ ।













प्रतिक्रिया दिनुहोस्