जनता टाइम्स

१२ पुष २०७८, सोमबार २०:२४

आफ्नै भाई बहिनी र नेतालाई सम्झाउन र बुझाउन नसक्दा पराजय भए – डा. कोइराला


विराटनगर, १२ पुस । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले आफ्नै परिवारका भाई बहिनी र आफ्नै नेतालाई सम्झाउन र बुझाउन नसक्दा आफुले पराजय भोग्नु परेको बताउनु भएको छ ।

पार्टीको १४ औ महाधिवेशनमा पार्टीको सभापतिमा पराजित भएपछि पहिलो पटक गृहनगर विराटनगर आउनु भएका नेता कोइरालाले सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गदै उक्त कुरा बताउनु भएको हो ।

उहाँले भन्नभयो– केन्द्रीय कमिटीमा आफ्नो समुहको कमजोर उपस्थिति हुनुमा हाम्रो र मेरा कमजोरीहरु छन्, आफ्नै भाइ, बहिनी तथा नेतालाई सम्झाउनु र बुझाउन सकिन, परिवारको इतिहास बताउन सकिन, वीपी कोइरालाले मेरो बुबा (फादर)लाई लेखेको चिठीको मर्म बुझाउन सकिन वा उहाँहरुले बुझ्न सक्नु भएन होला ।’त्यसैगरी उहाँले केन्द्रीय कमिटीको मर्यादाक्रममा २० स्थानमा आफूलाइ राखेको विषयलाई सामन्य रुपमा लिएको बताउँदै मर्यादाक्रम त कार्यकर्ताहरुले राख्ने हो भन्नुभयो । कार्यकर्ताले माया गरेर दिएको एक हजार ८५५ मत नै आफ्नो मर्यादाक्रम भएको स्पस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो– म मर्यादाक्रममा कहाँ छु र सभापतिले कहाँ राख्नु भएको छ, केन्द्रीय कमिटीले कहाँ राखेको छ त्यो पछिको कुरा हो । कार्यकर्ताहरुले माया गरे गरेनन त्यो महत्वपूर्ण कुरा हो । कार्यकर्ताले माया गरेर १८५५ मत दिएपछि त्यही हो मर्यादाक्रम । नेपाली काङ्ग्रेस भित्र मर्यादाक्रमको पद्धति वीपीको पाला देखिनै रहेको स्मरण गराउँदै त्यो पद्धतिलाई उहाँले पछ्याउनु भयो कि भएन ? पछ्याउनु भएको भए ठिकै होला नभए तपाइँहरुले बोल्नुहुन्छ ।

’यस विषयमा अझ स्पस्ट पार्दै उहाँले विभिन्न कालखण्डमा विभिन्न कुराहरु भएको स्मरण गराउँदै भन्नुभयो – वीपीका पालमा बेग्लै भएको छ, गिरिजा बाबुको पालामा पनि बेग्लै भएको छ ।

पहिलो पटक शेर बहादु जी सभापति उठ्दा बेग्लै भएको छ पछिल्लो पटक बेग्लै भएका छन् ।’नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगमी दिनमा आफू पार्टीको पदेन केन्द्रीय सदस्यको हैसियतमा समय काल, परिस्थिति र कार्यकर्ताको भावना अनुसार अगाडि बढ्ने बतउनु भयो ।उहाँले आफ्नो पहिलो प्राथमिकता केही समय पछि हुने तीन तहको निर्वाचन भएको र त्यसका लागि अहिले देखिनै लाग्ने बताउँदै टिकट जसले पाएपनि टिकट पाउने हामी सबै नेपाली काँग्रेस नै भएको स्पस्ट पार्नुभयो ।

तपाईहरुको शक्ति त केन्द्रीय कमिटीमा कमजोर देखियो तपाईको कुराको के सुनुवाई होला र रु भन्ने सञ्चारकर्मीहरुको जिज्ञासमा नेता कोईरालाले हिजो आफू केन्द्रीय सदस्य मात्र हुँदा पनि पार्टी सभापतिले आफ्नो कुराको सुनुवाई गरेको स्मरण गराउँदै भन्नुभयो– ‘अहिले त झन १८५५ मतको तागत लिएर हिँडेको छु, त्यसैले पनि चिन्ता गर्नुपर्ने कुरा छैन ।’