झापा, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा एमाले प्रवेशको लहर व्यापक रुपमा चलिरहेको बताउनुभएको छ । सोमवार नेकपा एमाले दमक नगर कमिटीले सोमबार दकममा आयोजना गरेको विशाल पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको विचार र व्यवहार देखेर एमालेमा प्रवेश गर्नेको लहर बढेको बताउनुभयो । देश र जनताका समस्या समाधान गर्ने पार्टी नेकपा एमाले मात्र भएको भन्दै अध्यक्ष ओलीले यो कुरा सबै नेपाली जनताले बुझेका बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हिजो विभिन्न ढंगले यत्रतत्र लाग्नुभएका साथीहरु फेरि पार्टीमा आउनुभएको छ, एमालेको विचार र व्यवहार हेरेर विभिन्न पार्टीका साथीहरु पनि एमालेमा आउनुभएको छ, एमाले देश र जनताको पार्टीको हो,
देश र जनताका समस्या समाधान गर्छ भन्ने देखेर र बुझेर नै एमालेमा फर्कने र प्रवेश गर्नेको लहर लागेको छ, ठिक पार्टी छानेर तपाईंहरु एमालेमा प्रवेश गर्नुभएको छ, सबैलाई म हार्दिक स्वागत गर्छु,तपाईंहरुले ठिक पार्टी छान्नुभएको छ ।’ यसअघि हिजो मात्र झापामै र केही दिन अगाडि पर्सा र कपिलवस्तुमा हजारौंको संख्यामा विभिन्न दलका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका उहाँले बताउनुभयो ।
विभिन्न पार्टीमा विभिन्न गलत प्रवृत्ति रहेका भन्दै उहाँले ती गलत प्रवृत्ति एमालेमा भित्र्याउन नदिन सबैलाई सचेत गराउनुभयो । राम्रा विचार भए अरु पार्टीका पनि ग्रहण गर्न सकिने उहाँको भनाइ छ ।
देश,जनता, राष्ट्रियता,विकास र समृद्धिको पक्षमा काम गर्ने पार्टी एमाले भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो – ‘विभिन्न पार्टीमा विभिन्न प्रकारका गलत प्रवृत्ति छन्,ती प्रवृत्ति हाम्रो पार्टीभित्र भित्र्याउनुहुँदैन, राम्रा उज्याला,सकारात्मक,देशभक्तिपूर्ण,जनपक्षीय विकासमुखि,स्वच्छ र नैतिक आचरणयुक्त प्रवृत्तिलाई अगाडि बढाउनुपर्छ,जुनसुकै पार्टीका कहिँकतै राम्रा विचार १÷२ पनि छन् भने लिनुपर्छ,तर गलत व्यवहार लिनुहुँदैन ।’
एमालेलाई देशप्रति समर्पित, जनताप्रति समर्पित, विकासका उद्देश्यमा समर्पित र समृद्ध नेपाल सुखी नेपालीको निर्माण गर्ने महान् गन्तव्यमा पुग्नेगरी अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले देशबाट गरिबी हटाउन सकिने पनि बताउनुभयो । देशभर नै कसैलाई गरिब बनाउन नदिने अभियान स्वरुप नेकपा एमालेले काम गरेको उहाँले बताउनुभयो । साढे ३ वर्षको अवधिमा आफू नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको उहाँले बताउनुभयो । सडक(पुल, बनाउने भूकम्पले ढलेका संरचना उठाउने लगायत कैयौं काम एमालेले गरेको अध्यक्ष ओलीले बताउनुभयो । एमालेले सरकारमा छँदा सडक बालबालिकालाई व्यवस्थित गरेर आश्रममा राखेको उहाँले सुनाउनुभयो ।
एमालेले गरेका काम नेपाली जनताले देखेका भन्दै उहाँले एमालेले सरकारले केही गरेन भन्ने २(४ जना मात्र रहेका स्मरण गर्नुभयो । तीमध्ये पनि माधव नेपालले एमालेले केही गरेन भनेर क्यान क्यान गर्ने गरेको उहाँले सुनाउनुभयो । चस्मा लगाएपनि माधवले एमालेले गरेको विकास देखेको बताउँदै उहाँले भन्नुभयो – ‘चस्मा त लगाउँछन्,किन देख्दैनन् विकास ?’
पानीजहाज चलाउन सक्छौं भनेर एमालेले जागरण ल्याएको पनि अध्यक्ष ओलीले बताउनुभयो । एमालेले विकासको लहर ल्याएको देखेर सरकार ढालिएको उहाँले बताउनुभयो ।
आफू नेतृत्वको सरकारले शिलान्यास गरेका १४ सय बाटो बनाउने योजना अहिलेको सरकारले रद्ध गरेको उहाँको गुनासो छ ।एमाले सरकारमा हुँदा विकास निर्माणका लागि पर्याप्त बजेट हुने गरेको भन्दै उहाँले अहिलेको सरकार पैसा छैन भनेर कामबाट पन्छिएको बताउनुभयो । विकासप्रेमी सरकार ढालेर निकम्मा सरकार बनाइएको भन्दै उहाँले अहिलेको निकम्मा सरकारले केही गर्नै नसक्ने बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्