जनता टाइम्स

१३ पुष २०७८, मंगलवार १३:२८

सन्तोष साहले जिते बीबीसी मास्टरसेफको ‘रिम्याच’ उपाधि



काठमाडौं, १३ पुस । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जित्नुभएको छ। बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जित्नुभएको हो।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनस् अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

सिरहा कर्जन्हाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गर्नुभएको थियो । दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गर्नुभयो।

निर्णायकहरुले सन्तोषको खानाको तारिफ उपाधि जिताए । गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल हुनुभयो।

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि चुलिएको थियो। उनको मौलिक नेपाली खाना पारखीहरुका लागि कुकबुक ‘आयला’ पनि प्रकाशित भएको छ ।