जनता टाइम्स

१४ पुष २०७८, बुधबार १७:२६

देउवा सरकारलाई झड्का : राखेपका पाँच सदस्य उच्च अदालत पाटनबाट पुनर्वहाली



काठमाडौं, १४ पुस।शेर बहादुर देउवा नेतृत्वको सरकारले हटाएका राष्ट्रिय खेलकुद परिषद (राखेप)का पाँचजना सदस्य अदालतको अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन् ।

केपी ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका परिषद सदस्यहरु सुवर्ण श्रेष्ठ, रेनुका श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटलाई युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हटाइएको थियो । आफूहरुलाई हटाउने निर्णय गैरकानूनी भएको भन्दै हटाइएका ८ जनामध्ये ५ जना उच्च अदालत पाटनमा जानुभएको थियो। उच्च अदालतका न्यायाधीश खुशीप्रसाद थारु र विमल सुवेदीको संयुक्त इजलासले मंगलवार उहाँहरुलाई हटाउने निर्णय कार्यन्वयन नगरी यथास्थितिममा राख्न अन्तरिम आदेश दिएको हो ।मंसिर ३ गते बर्खास्तगीमा परेको भोलिपल्टै उच्च अदालतमा रिट दायर गर्नुभएका उहाँहरुको मुद्दामा सुनुवाइ गरी मंसिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । यो आदेशसँगै परिषदका पाँचजना सदस्यहरु आजै राखेपमा पुनर्वहालीका लागि जान लागेको सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो। बर्खास्तीमा परेका इन्दिरा निरौला,गोपाल खनाल र गोविन्द भट्टराई भने अदालत जानुभएन ।

उहाँहरुमध्ये इन्दिरा त्रिभुवन विश्वविद्यालयको कर्मचारीका रुपमा आरआर क्याम्पसमा कार्यरत हुनुहुन्छ भने भने गोपाल खनाल उद्योग वाणिज्य महासंघबाट प्रतिनित्व गर्नुहुन्छ । गोविन्द भट्टराई नेपाल साहसिक तथा पर्वतीय खेलकुद महासंघको प्रतिनिधिको रुपमा राखेप बोर्ड सदस्य नियुक्त हुनुभएको थियो । यसअघि सदस्य सचिवबाट हटाइएका रमेश सिलवालको मुद्दामा पनि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यो रिटको सुनुवाइ पुस १२ गतेका लागि तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।