जनता टाइम्स

१६ असार २०७६, सोमबार १४:०७

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित


वेलिङटन, असार १६

न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको आदेशमा उल्लेख छ । प्लास्टिकको प्रदूषण विश्वव्यापी चासोको विषय बनेको छ । प्लास्टिकमा अल्झिएर वा प्लास्टिक खाएर बर्सेनि लाखौं चरा र एक लाख भन्दा बढी सामुद्रिक जीव मारिने वा घाइते हुने गरेको अध्ययनहरुले देखाएका छन् ।

न्यूजील्यान्ड सरकारले लगाएको प्रतिबन्धलाई बेवास्ता गर्ने कम्पनीहरुमाथि ६७ हजार अमेरिकी डलरसम्म जरिवाना गर्ने जनाएको छ ।न्यूजील्यान्डका वातावरणमन्त्री युजिन सेजले न्यूजील्यान्डलाई सफा, हरियो र बस्न लायक बनाउने प्रयासस्वरुप नयाँ कदम चालिएको बताउनुभयो । राष्ट्रसंघीय वातावरण कार्यक्रमका अनुसार विश्वका ८० भन्दा बढी मुलुकले पातला प्लास्टिक ब्यागको प्रयोग निषेध गरिसकेका छन् ।