काठमाडौं, पुस १७ । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य गरेको छ । तर २९९ सदस्यीय केन्द्रीय कमिटीमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशीबाट चयन गर्ने निर्णय भएपछि क्लस्टर भद्रगोल भएको छ । निर्वाचन समितिले केन्द्रीय समितिका १४५ जना खुलातर्फबाट चयन हुने र समानुपातिकतर्फबाट १५४ केन्द्रीय सदस्य चयन हुने तय गरेको छ ।
समानुपातिकतर्फका १५४ लाई संविधानले तोकेको ८ वटा क्लस्टर अनुसार खसआर्य, दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, थारु, अपाङ्गता भएका र पिछडिएको क्षेत्रमा छुट्याइएको छ । ती सबै क्लस्टरमा पनि महिला, पुरुष र युवालाई उप समूह बनाइएको छ । यसरी बनाएको उपसमूहमा सबैभन्दा धेरै संख्या महिलाले पाएका छन् । समानुपातिक पद्धतिमा खस आर्यबाट ४५ केन्द्रीय सदस्य निर्वाचित हुने भनिएको छ । जसमा पुरुषतर्फ १२ र पुरुष युवातर्फ ३ केन्द्रीय सदस्य चयन हुनेछन् भने महिला २४ र महिला युवा ६ जना हुनेछन् ।कतिसम्म भने मुस्लितमर्फ कुल ७ केन्द्रीय सदस्यमध्ये एक महिला युवा र ४ महिला हुनेछन् भने पुरुषतर्फ खुला र युवा गरी जम्मा २ जना चयन हुनेछन् ।यस्तो भद्रगोल किन त भन्ने प्रश्मा माओवादी केन्द्रको निर्वाचन समितिका संयोजक विष्णुपुकार श्रेष्ठ भन्छन्, केन्द्रीय समितिमा ३५ प्रतिशत महिला हुनुपर्छ भन्ने विधान छ ।
खुलाबाट महिला आउने सुनिश्चित नभएकाले समानुपातिकतर्फबाट १०४ जना सुनिश्चित गरिएको हो ।’ यता नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएकामा ती सबै कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनुभएको छ ।
शनिबार दिउँसो साढे दुई बजे स्थगित भएर साँझ पौने ७ बजे पुन सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्द सत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्ने प्रस्ताव गरेका गर्नूभएको छ । त्यसपछि अध्यक्ष मण्डलले बन्द सत्र आइतबार १ बजेसम्म स्थगित भएको जानकारी गराएको माओवादीको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।
शनिबार नै निर्वाचन समितिले मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्ता हुँदै मतदानसम्मको कार्यतालिका सार्वजनिक गरेको थियो । तर सहमतिका लागि प्रयास भइरहेको भन्दै निर्वाचन कार्यक्रमलाई पर सारिएको हो । एक नेताका अनुसार आइतबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा सहमतिमा केन्द्रीय सदस्यहरुको नाम घोषणा गर्ने तयारी छ ।













प्रतिक्रिया दिनुहोस्