जनता टाइम्स

१८ पुष २०७८, आईतवार १४:३७

प्रधानमन्त्री देउवा पत्नि आरजु अकस्मात नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट


काठमाडौं, १८ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुग्नुभएको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुग्नुभएको हो । उहाँ दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन । आज कांग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइबालेले भेट गर्नुभएको छ ।

उहाँले कांग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । गुजरातबाटै देउवा नयाँ दिल्ली जानुहुने भएको हो । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।