काठमाडौं, १८ पुस । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको देउवाका भारत भ्रमणप्रति प्रश्न उठाउनुभएको छ ।
काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात् दिल्ली पुग्नुभएको हो । आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गर्नुभएको छ । रावलले सामाजिक सञ्जालमा प्रश्न गर्नुभएको छ ’श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो । के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?’
प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैहुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जान लाग्नुभएको हो । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।














प्रतिक्रिया दिनुहोस्