जनता टाइम्स

१६ असार २०७६, सोमबार १९:५६

ठगीको आरोपमा समातिए प्राध्यापक, स्वीकारे अभियोग


बारा, असार १४

आफू कार्यरत विद्यालयमा जागिर लगाइदिन्छु भन्दै ६१ लाख भन्दा बढी रकम ठगी गर्ने एक प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराले बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानध्यापक ४३ वर्षीय अनिल ठाकुरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ठाकुरलाई ६१ लाख १४ हजार पाँच सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । ठाकुर रौतहट माधवनारायण नगरपालिका–६ घर भइ हाल वीरगन्ज महानगरपालिका ३२ विद्यानगरटोलमा बस्दै आएका थिए । आफू प्रधानध्यापक रहेको विद्यालयमा शिक्षकको जागिर लगाइदिने भन्दै ठाकुरले २० जना व्यक्तिबाट प्रतिव्यक्ति दुई लाखदेखि पाँच लाखसम्म ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पुरीले जानकारी दिनुभयो ।

दुई वर्षदेखि विभिन्न व्यक्तिसँग रकम लिँदैआएका ठाकुरमाथि पीडितले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । रकम लिएका व्यक्तिलाई जागिर लगाउन नसकेपछि ठाकुर पछिल्लो समय रकम नभएको बैंकको चेक पीडितलाई दिएर लुकिछिपी बस्दैआएका थिए । जाहेरीका आधारमा ठाकुरलाई खोजी गर्ने क्रममा जीतपुरबाट पक्राउ गरी कारवाही थालिएको डिएसपी पुरीको भनाई छ ।

ठाकुरले आफूमाथि लागेको आरोप प्रारम्भिक बयानका क्रममा स्विकार गरेकोले उनलाई ठगी मुद्दामा बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।