जनता टाइम्स

२० पुष २०७८, मंगलवार १७:१५

प्रेस चौतारीले तोक्यो जिल्ला र प्रदेश अधिवेशनको मिति, यस्तो छ प्रतिनिधि छनोटको मापदण्ड


काठमाडौं, पुस २० । नेपाली श्रमजीवि पत्रकारहरुको सवैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपालले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ। लुम्बिनीमा १२ र १३ गते बसेको चौतारीको बैठकले गरेको निर्णयअनुसार अध्यक्ष गणेश बस्नेतले परिपत्र जारी गर्दै २८ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जानकारी भएको हो।

उहाँका अनुसार माघ २ देखि ६ गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । प्रदेश १ को माघ २ गते, लुम्बिनी प्रदेशको माघ ४ गते दाङ, कर्णाली प्रदेशको माघ ६ गते सुर्खेत र सुदू्रपश्चिम प्रदेशमा माघ ५ गते धनगढीमा अधिवेशन गरिने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । प्रदेश २, बागमती, गण्डकी, उपत्यका, प्रतिष्ठान एसोसिएट प्रदेशको पनि माघमै गरिने भनिए पनि मिति उल्लेख गरिएको छैन ।

केही दिनभित्रै बाँकी प्रदेशको पनि मिति तोकिने चौतारीले जनाएको छ । अध्यक्ष बस्नेतका अनुसार प्रतिनिधि छनोट मापदण्डसमेत परिपत्रमार्फत पठाइएको छ । जसअनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा ३० जना सदस्य (पुरुष) बरावर एक र १५ जना महिला सदस् बरावर एक जना चयन गर्ने ब्यवस्था गरिएको छ । यस्तै प्रदेश प्रतिनिधिमा २० जना पुरुष सदस्य बरावर एक र १० जना महिला सदस्य बरावर एक जना प्रतिनिधि चयन हुने ब्यवस्था गरिएको छ ।

अध्यक्ष बस्नेतका अनुसार महाधिवेशनको उदघाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने छ ।