जनता टाइम्स

२० पुष २०७८, मंगलवार १९:५५

एमाले अर्घाखाँची अधिवेशनको तयारी अन्तिम चरणमा, विभिन्न पदमा उम्मेदवारी घोषणा हुँदै


हरिप्रसाद भुसाल, अर्घाखाँची । यही मंसिर २३ गते हुने नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । नेकपा एमाले जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा एमाले अर्घाखाँचीका प्रचार विभाग प्रमुखसमेत रहेका उपसचिव प्रेमनारायण गैरेले सबै उपसमितिहरूले आ(आफ्नो तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी दिनुभयो । कार्यक्रममा महाधिवेशन सम्पन्न गर्नका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाको विषयमा जानकारी गराएका थिए ।

एमाले सचिव टोपबहादुर रायमाझीले उद्घाटन गर्ने जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र छ । जिल्ला नेतृत्वको लागि नेकपा एमाले प्रदेश कमिटी सदस्यसमेत रहेका नेता पीताम्बर भुसालले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । नेतृत्वका लागि वर्तमान उपसचिव प्रेम गैरेको दाबी रहेको भनिए पनि गैरेले हालसम्म औपचारिक रूपमा घोषणा गर्नुभएको छ ।

त्यस्तै जिल्ला सचिवको लागि वर्तमान सचिव तोजबहादुर रायमाझीले उम्मेदवारी घोषणा गर्नुभएको छ । रायमाझी नेकपाको निरन्तरताको रूपमा पूर्वमाओवादी खेमाबाट एमाले राजनीतिमा सक्रिय हुनुहुन्छ । अधिवेशनमा सन्धिखर्कबाट ९९ जना, मालारानीबाट ७२ जना, शितगंगाबाट ६८ जना, पाणिनीबाट ६४ जना, भूमिकास्थानबाट ६१ जना, छत्रदेवबाट ५६ जना, शाखाबाट १५ जना, आयोजक कमिटीबाट १०० जना र मनोनीत २७ गरी ५६३ प्रतिनिधि सहभागी हुनेछन् ।

सबै प्रतिनिधि सर्वसम्मत रूपमा टुंगाएको एमालेले जिल्ला सम्मेलन पनि सर्वसम्मत रूपमै सकिने तयारी गरेको जनाएको छ । अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटीको निर्वाचन गर्नेछ ।