जनता टाइम्स

२० पुष २०७८, मंगलवार २१:३८

रेल्वे कम्पनीको नियुक्तिपत्र दिँदै ठगी गर्ने पक्राउ


धनुषा, पुस २० । जनकपुरमा लोकसेवा आयोगको र नेपाल रेल्वे कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीबनौलीका ३२ वर्षीय सागरकान्त चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी हुँ भन्दै ठगी गरिरहेका चौधरीलाई आइतबार राति जनकपुरको रामानन्द चोकबाट पक्राउ गरिएको बस्नेतले बताउनुभयो ।

चौधरीको साथबाट लोक सेवा आयोग नियुक्त नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ति पेपर, शपथ ग्रहण पाना, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको राजेश कापरको नामको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत वीरगन्ज लेखिएको रबर स्ट्याम्प बरामद भएको प्रहरीले जनाएको छ ।

लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली कागजातहरु तयार गरी स्थानीयलाई ठगी गर्ने चौधरीले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भन्दै नक्कली नियुक्ति पत्र तयार गरी बाँडेको पनि प्रहरीले जनाएको छ ।चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकामा ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।