काठमाडौँ, पुस २१। बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाका दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा ४१ दिनदेखि भएको आन्दोलन स्थगित भएको छ ।सरकारसँग मंगलबार साँझ ४ बुँदे सहमतिपछि धर्ना र आमरण अनशन स्थगित भएको आन्दोलनकी अगुवा रुबी खानले जानकारी दिनुभयो । वार्तापछि गृह मन्त्रालयका उच्च कर्मचारीहरू र आन्दोलनरत पक्षले मंगलबार साँझ संयुक्तरुपमा सहमतिपत्रमा हस्ताक्षर गर्दै माइतीघरबाट आन्दोलन स्थगित भएको घोषणा गरेका थिए । यसअघिको सहमति पूरा नभएको भन्दै अगुवा रुबी खान लगायतका महिलाहरूले दोस्रो चरणको आन्दोलनअन्तर्गत ४१ दिनदेखि धर्ना र मंगलबार बिहानदेखि आमरण अनशन सुरु गरेका थिए । उनीहरूको आन्दोलनमा डा.गोविन्द केसी, नारायण वाग्ले, मोहना अन्सारी, सञ्जीव उप्रेतीसहित नागरिक अगुवाहरूले साथ दिनुभएको थियो । दुईपक्षबीच भएको वार्ताको क्रममा ४ बुँदे सहमति भएको थियो ।
सहमतिपछि मंगलबार साँझ नागरिक आन्दोलनका अगुवा डा गोविन्द केसीले खानलाई जुस खुवाएर आन्दोलन स्थगित भएको घोषणा गरिएको हो । यस क्रममा गृह मन्त्रालयको तर्फबाट सहसचिव मुकुन्दप्रसाद निरौला, सहसचिव प्रदीपकुमार कोइराला, सहसचिव भीष्मकुमार भुसाल, सुरक्षा तथा प्रशासन विज्ञ सुनिल खनाल, उपसचिव दिलकुमार तामाङ र उपसचिव बसन्त भट्टराई उपस्थित हुनुभएको थियो ।यस्तै आन्दोलनरत पक्षको तर्फबाट रुबी खान, नागरिक समाज, डा केसी, अधिकारकर्मी अन्सारी, अधिवक्ता ओमप्रकाश अर्याल, बिमल अर्याल, मनकुमार भुर्तेल, कौशिला वागवान, गीता चमार र बसन्त रन्जितकारले हस्ताक्षर गर्नुभएको छ ।
यस्तो छ ४ बुँदे सहमति
१। निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी जाहेरीमा औंल्याइएका विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत अनुसन्धान गर्ने गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा पत्राचार गर्ने सहमति गरियो ।
२। यस विषयमा निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा जाहेरवाला, साक्षी आन्दोलनरत व्यक्तिहरू समेतलाई अभियुक्तहरूको तर्फबाट धाकधम्की, प्रलोभन आएको भन्ने विषयहरू छलफलमा उठान भएकोले निजहरूको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायहरूलाई गृह मन्त्रालयले निर्देशन दिने सहमति गरियो ।
३। यस सम्बन्धमा भएको छानबिन प्रतिवेदनमा औंल्याइएका विषयहरू कार्यान्वयन गर्न सम्बन्धित निकायहरूमा पत्राचार गर्ने, यसअघि भएका पत्राचार, कारबाहीका विषयमा प्रगति विवरण प्राप्त गर्ने, कार्यान्वयनका लागि फलोअप गर्ने सहमति गरियो ।
४। उल्लेखित विषयलाई लिएर आमरण अनशनमा रहेकी रुबी खानले आजकै मितिबाट अनशन तोड्ने, निजसहितका आन्दोलनरत व्यक्तिहरूले धर्नासहितका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने सहमति गरियो ।














प्रतिक्रिया दिनुहोस्