जनता टाइम्स

२२ पुष २०७८, बिहीबार १८:५५

पोखरामा सोमबारदेखि भेट्रान्स फुटबल प्रतियोगिता हुने


पोखरा, २२ पुस । पोखरामा पाका खेलाडीहरुलाई समेटेर फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्षदेखि ६५ वर्ष उमेर समूहका खेलाडीहरुको टीमबीच प्रतिस्पर्धा गर्न लागिएको हो । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने नाराका साथ बगर भाइ खलकले एट ए साईड फुटबल गर्न लागेको हो । प्रतियोगिताको सबै तयारी सकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता पुस २६ गतेदेखि माघ १ गतेसम्म चल्ने छ । उक्त प्रतियोगितामा २६ टीमको सहभागिता हुने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले बताउनुभयो । यो प्रतियोगिता भेट्रानहरुको संस्थागत पहिलो प्रतियोगिता हो । प्रतिश्पर्धाका लागि काठमाण्डौं, विरगन्ज, हेटौंडा, चितवन, वुटवल, स्याङजा लगायत सहरबाट सहभागी हुनेछन् । उपाधि विजेताले १ लाख ५१ हजार १ सय ११ सहित पदक पाउने छ भने उपविजेताले ७५ हजार ५ सय ५५ नगद पाउने छ ।

उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई ट्रफी सहित जनही नगद ५ हजार दिइने आयोजकले जनाएको छ । सेमिफाइलन पुग्ने दुई टिमलाई १० हजारका दरले उपलब्ध गराईने छ । सोही कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी तथा शिक्षाविद् महेश गुरुङलाई सम्मान गर्ने कार्यक्रम छ । यस वर्ष पोखराका अग्रज फुटबल खेलाडी गुरुङलाई ताम्रपत्र र दोसल्लाले सम्मान गर्न लागेको हो ।