पोखरा, पुस २३ । नेकपा एमाले कास्की १०औं अधिवेशन आज शुक्रबारबाट सुरु हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशव्यापी रूपमा भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्नुहुनेछ । त्यसपछि थप औपचारिक कार्यक्रम हुनेछ । औपचारिक कार्यक्रम सकेर यसपालि सिधै निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।
सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने र नभए मतदान प्रक्रियामा जाने नेताहरूले बताएका छन् । अधिवेशनको संघारमा एमाले कास्कीको नेतृत्व लिन हानथाप सुरु भएको छ । अध्यक्षमा पाँच जनाको दाबी छ । एक महिनाअघि कार्यवाहक अध्यक्ष बन्नुभएका मनबहादुर गुरुङ एक कार्यकाल पूर्ण अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ भने हालका सचिव दामोदर वैरागीले समेत आकांक्षा देखाउनु भएको छ । पुराना नेता जगन्नाथ बास्तोला, तेजनारायण अधिकारी र माधव बास्तोला पनि अध्यक्षको आकांक्षीमा हुनुहुन्छ ।
आकांक्षी जति भए पनि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने पक्का छ । गुरुङ र वैरागीबीचमा प्रतिस्पर्धा हुने देखिन्छ । गुरुङ पूर्व मुख्यमन्त्री तथा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुनुहुन्छ भने वैरागी स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुनुहुन्छ ।
दुवै पक्षका आकांक्षीले सर्वसम्मत नेतृत्व छान्ने दाबी पनि छाडेका छैनन् । ‘नेताहरू सल्लाह गर्दै हुनुहुन्छ । सर्वसम्मत रूपमा कमिटी फर्मेसन हुन्छ,’ आकांक्षी गुरुङ भन्नुहुन्छ, ‘नत्र त चुनाव हुन्छ ।’ अर्का आकांक्षी वैरागीले पनि सहमतिमा आफू तयार रहेको बताउनु भयो । यद्यपि नेतृत्व दाबी भने छाडनु भइ.एको छैन । ‘मेरो दाबी अध्यक्षमा छ । सर्वसम्मत हुने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो। वैरागी टिमबाट सचिवमा बैनबहादुर अधिकारीको नाम सुनिएको छ भने गुरुङ गुटमा तेजनारायण अधिकारीको चर्चा छ ।
एमालेको जिल्ला अधिवेशनमा सवा ९ सय प्रतिनिधि छानिएका छन् । ७२ वडा र जनवर्गीय संगठनबाट ९ सय १४ जना प्रतिनिधिले मताधिकार पाएका एमालेले जनाएको छ । ७२ वटा वडा, विशेष इलाका मातहतका शाखा कमिटी, गाउँपालिका, महानगरपालिका, जनवर्गीय संगठनबाट छानिएका प्रतिनिधि, सल्लाहकार परिषद्, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरू अधिवेशनमा प्रतिनिधिका रूपमा उपस्थित हुनेछन् । अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १० वटा उपसमितिहरू गठन भएका छन् ।













प्रतिक्रिया दिनुहोस्