जनता टाइम्स

१७ असार २०७६, मंगलवार ०८:०३

काबुलमा भिषण विस्फोट, कम्तीमा ३४ जनाको मृत्यु


आफगानिस्तान , १७ असार । आफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी ३४ भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने ६८ जना घाइते भएका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । शुरुमा आतङ्ककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ । आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति दिएको छैन । आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन । घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।