जनता टाइम्स

२३ पुस २०७८, शुक्रबार १७:४८

एकै दिन अध्यक्ष ओलीको तीन सम्बोधन – चुनावपछि एमालेले बहुमतको सरकार बनाउँछ


काठमाडौं, २३ पुस । नेकपा एमालेको आजबाट जिल्ला अधिवेशन सुरु भएको छ । आज दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि काठमाडौं र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुग्नुभयो । करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानुन र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाउनुभयो ।

सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै उहाँले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्नुभयो । तीनवटै सम्बोधनमा एउटै भाषण गर्नुभएको अध्यक्ष ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताउनुभयो ।

‘हामीलाई जनताको कवच प्राप्त छ’, उहाँले भन्नुभयो,‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’
आगामी निर्वाचनमा एमाले एक्लै चुनौतीको सामना गर्न तयार रहेको उहाँको भनाइ छ । शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको सरकारको संज्ञा दिँदै उहाँले पाँचमुख भएका सरकारले तुइन काटेर जनतालाई नदी खसाल्दा पनि बोल्न नसकेको आरोप लगाउनुभयो ।

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै उहाँले सरकार जनताको पक्षमा नरहेको बताउनुभयो । जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको भन्दै ओलीले भन्नुभयो, ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन ।’ सरकार गठनसम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेशप्रति उहाँले खरो टिप्पणी गर्नुभयो । आफ्नो पार्टीको हालै सम्पन्न १०औँ अधिवेशनको अध्ययनविना नै टिकाटिप्पणी भइरहेको भन्दै उहाँले अधिवेशनले पारित गरेका दस्तावेजले लिएको नीति र सिद्धान्तबारे अध्ययनविना नै विभिन्न टिकाटिप्पणी भइरहेको बताउनुभयो ।

एमालेविरुद्ध हल्ला फिँजाइएको भन्दै उहाँले भ्रममा नपर्न कार्यकर्ता र आममानिसलाई आग्रह गर्नुभयो । गठबन्धन र नेकपा (एकीकृत समाजवादी) प्रति खरो टिप्पणी गर्नुभएको उहाँले गठबन्धनललाई प्रतिमगनको संज्ञा दिनुभयो । एमालेसँग अहिले पनि जनमत बढी रहेको दाबी गर्दै उहाँल्े एकातिर अरु पार्टी र अर्कोतिर एमाले राख्दा पनि एमाले शक्तिशाली रहेको सुनाउनुभयो ।