जनता टाइम्स

२३ पुष २०७८, शुक्रबार १८:०५

ओलीलाई चिन्ने मौका दिएको भन्दै लेखराजले दिए प्रचण्डलाई धन्यवाद


धनगढी, २३ पुस । नेकपा एमालेका सचिव लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिनुभएको हो । एमाले अध्यक्ष ओलीलाई चिन्ने मौका दिएको भन्दै उहाँले आफ्ना पूर्व अध्यक्ष प्रचण्डलाई धन्यवाद दिनुभएको हो । नेकपा एमाले कैलालीको ८औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै सचिव भट्टले भन्नुभयो, ‘मैले ओलीलाई नजिकबाट चिन्ने मौका पाएको थिएन । उहाँमा भएको देश भक्तिलाई मैले चिन्न सकेको थिएन । तर प्रचण्डले ओलीलाई चिन्ने राम्रो मौका दिनु भयो । उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

प्रचण्डको स्वार्थका कारण माओवादी र एमालेको पार्टी एकता हुन नसकेको उहाँको आरोप छ । ओलीले देशलाई सम्वृद्ध बनाउने योजना बनाएपछि त्यसलाई सफल हुन नदिन प्रचण्डले पार्टी भित्रै गुट गर्दै एकता प्रक्रिया तोडेको भट्टले बताउनुभयो । ‘एमाले र माओवादीलाई अदालतले अलग गरेको होइन ।

अदालतले नेकपा नाम परिवर्तन गर्न मात्रै भनेको हो,’ सचिव भट्टले भन्नुभयो, ‘तर प्रचण्डले पार्टी एकता गर्न चाहेनन्, अदालतको निर्णयपछि ओलीले पार्टीको नाम सोचौं भन्दा प्रचण्डले त्यसलाई मजाक बनाए, एकता प्रक्रिया भाड्ने व्यक्ति प्रचण्ड नै हुन् ।’ प्रचण्डले जनआन्दोलनका मुद्दालाई बिर्सेर पुँजीपति बाटो अँगालेपछि आफूहरू ओलीतर्फ लागेको उहाँले सुनाउनुभयो । उहाँले ओली जति देशभक्त र विकासप्रतिको कटिबद्ध नेता नेपालमा अरू कोही नभएको बताउनुभयो । ‘कांग्रेस पुँजीबादी पार्टी हो,’ उहाँले भन्नुभयो, ‘माओवादी र अन्य दल अहिले उसैको पछाडि लागेका छन्, ओली बाहेक अरूमा देश विकासको चिन्ता नै छैन ।’

अहिलेको गठबन्धन सरकार आयात मुखी अर्थतन्त्रमा रमाएर कमिसनको चक्करमा फसेको आरोप लगाउनुभयो। ‘एमालेको नेतृत्वमा सरकार हुँदा देशमा हुने उत्पादनको निर्यात दर बढेको थियो । जसका कारण डलरको सञ्चित घटेको थियो,’ उहाँले थप्नुभयो, ‘तर अहिले निर्यात ठप्प छ, गठबन्धनका नेता तथा मन्त्री बढी भन्दा बढी आयतबाट गरेर कसरी कमिसन खाने भन्ने चक्करमा रुमलिएका छन्, जसका कारण डलरको सञ्चित बढेको छ ।’ गठबन्धन सरकार कमिसनको चक्करमा पर्दा देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको पनि उहाँले बताउनुभयो ।