काठमाडौँ, २४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको बताउनुभयो। नेकपा एमाले काभ्रेको १० शुक्रवार औं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारले राज्यको तीनवटै अंग बर्बाद् पारेको आरोप लगाउनुभयो ।
‘अमेरिकाबाट श्रीमान इमेल गर्छन्, अरु श्रीमानहरू इमेल वाचन गरिनसक्दै, सुन्न नसक्नुभएपछि खोस, खोस भनेर च्यातेर फाल्छन् । अदालतमा प्रधानन्यायाधीश छिर्न दिँदैनन्, वरिष्ठ कानुन व्यवसायी अदालतमा नै हानहान गर्छन्, न्यायधीशहरू हड्ताल गर्छन्, इजलास बहिष्कार गर्छन्, सरकार यस्तो, अदालत यस्तो, संसद् यस्तो छ । राज्यको तीनवटै अंग बर्बाद पारे,’ उहाँले भन्नुभयो ‘जनादेशमार्फत् नेकपा एमालेले त्यस्ता तत्वलाई पराजित गरेर देशमा सुशासनयुक्त विकासको अभियान, सामाजिक न्यायको अभियान चलाउनुपर्छ ।’
दुई पार्टीको बैसाखीमा टेकेको सरकार पूरै असफल भइसकेको भन्दै उहाँले बैंकमा आफूले राखेको पैसासमेत फिर्ता दिन नसक्ने स्थितिमा पुगेको आरोप लगाए । ‘आफूले बैंकमा राखेको पैसा पनि फिर्ता दिन नसक्ने पनि सरकार हुन्छ , अस्ति बैंकमा पैसा लिन जाँदा बरु मेरो रगत लिनुस्, पैसा दिन सकिँदैन भने रे,’ ओलीले ५ दलीय गठबन्धनलाई लक्षित गर्दै भन्नुभयो, ‘एक अलच्छिन पसे त बर्बाद हुन्छ, ५/५ वटा अलच्छिन एक ठाउँमा भएपछि के हुन्छ , मन्त्री भेटिएला कि भनेर मान्छे तर्केर हिँड्ने अवस्था छ ।’
सेटिङ, परमादेशबाट बनेको सरकार जनताप्रति उत्तरदायी नभएको उहाँले भन्नुभयो । यस्तै नेता ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति निकै आक्रामक देखिनुभएको थियो । सभामुख सापकोटाको उहाँले कडा शब्दमा आलोचना गर्नुभयो । सापकोटा पार्टी फुटाउने षड्यन्त्रमा सहभागी बनेको उहाँलेब बताउनुभयो । उहाँले भन्नुभयो ‘काभ्रेली जनतालाई सभामुखको बारेमा मैले भनिरहनुपर्दैन, म नलिऔं, फेरि यहाँ कुल्ला गर्ने पानी छैन,’ उहाँले भन्नुभयो , ‘निष्पक्षता छैन, सभामुख पदको मर्यादा, गरिमा छैन, प्रतिपक्षका विरुद्ध, देशको प्रमुख पार्टीको विरुद्ध नांगो नाच गरेर, पार्टी फुटाउने षडयन्त्रमा सहभागी भएर लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध अहिले पनि पाप गरिरहेका छन् ।’













प्रतिक्रिया दिनुहोस्