जनता टाइम्स

२४ पुष २०७८, शनिबार १३:५२

प्रचण्डसहित एक दर्जन बढी माओवादी नेता कोरोना संक्रमण, बधाई दिन गएका सबैमा देखियो कोरोना


काठमाडौं, पुस २४ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोरानाको लक्षण देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित महाधिवेशनबाट फर्किएका नेताहरु धमाधम अस्वस्थ हुन थालेपछि गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएसँगै माओवादीले केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि स्थगित गरेको छ । माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो । प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ । उहाँहरुको सचिवालयले संक्रमण देखिएको जनाउँदै सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन सार्वजनिक सूचना दिइसकेको छ । अहिलेसम्म प्राप्त सूचनालाई हेर्दा माओवादी अध्यक्षमा पुनः निर्वाचित भएका प्रचण्डलाई बधाई दिन जानेहरु अधिकांश नेतामा संक्रमण देखिएको छ ।

यसरी संक्रमित हुनेमा प्रचण्डका स्वकीय सचिव रमेश मल्ल प्रचण्डलाई बधाई दिन निवास पुगेका वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा, वाइसिएल अध्यक्ष सुमन देवकोटा, वाइसिएल नेता तथा हाल केन्द्रीय सदस्य सुवोध शेर्पाली, वागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डेलगायत रहनुभएको छ ।

यस्तै नेताहरु हरिबोल गजुरेल, मात्रिका यादव, डोरप्रसाद उपाध्यायमा पनि संक्रमण पुष्टि भइसकेको छ । अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहमा पनि संक्रमण देखिएको छ । माओवादी महाधिवेशनबाट फर्किएका र प्रचण्डसँग भेट गरेका अरु नेताहरु पनि संक्रमित भएको हुनसक्ने देखिएको छ । महाधिवेशनबाटै संक्रमण फैलिएको आशंका गरिएको माओवादीका एक नेताले बताएका छन् । सबै नेताहरुमा एकै खालको लक्षण देखिएको छ । माओवादीले आन्तरिक रुपमा सबैलाई परीक्षण गर्न सुझाएको छ ।