जनता टाइम्स

२४ पुष २०७८, शनिबार २०:०५

एमालेको गुल्मी अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली सर्वसम्मत, यी हुन पदाधिकारी


गुल्मी, पुस २४ । नेकपा एमाले गुल्मीको ११ अधिवेशनले सर्वसम्मत रूपमा अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपालीलाई निर्वाचित गरेको छ । अघिल्लो जिल्ला कमिटीमा काउछा उपाध्यक्ष र श्रीपाली सचिवालय सदस्य हुनुहुन्थ्यो । निर्वाचन अधिकृत गोपाल खनालका अनुसार उपाध्यक्षमा हिरा एसी, कृष्ण सुनार र कृष्ण घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।

यस्तै उप–सचिवमा धर्म विश्वकर्मा, ललिता गौतम, सावित्री आचार्य र केशव बहादुर चन्दले मनोनयन दर्ता गराएको खनालले जानकारी दिनुभयो । अहिलेसम्म अध्यक्ष, सचिव लगायत अधिकांश सदस्यहरू सर्वसम्मत टुङो लागेको एमाले नेता ओम कार्कीले जानकारी दिनुभयो । उपाध्यक्ष र उपसचिवसहित केही सदस्य पद पनि सर्वसम्मत बनाउने प्रयास भएको कार्कीले बताउनु भयो । ११औं जिल्ला अधिवेशनको लागि सात सय १० प्रतिनिधि रहेका छन् ।

प्रदीप ज्ञवाली र गोकर्ण विष्ट जिल्लाको एमाले नेतृत्व सर्वसम्मत बनाउन कस्सिनुभएको छ । मौसम प्रतिकुल र नेतृत्व सर्वसम्मत टुङ्गो लाग्न थालेपछि प्रतिनिधि घर फर्किन थालेका छन् ।