काठमाडौं, २५ पुस। तान्त्रिक विधिबाट उपचार गर्ने बहानामा राजधानीमै एक बालिकाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक कथित मातासहित तीनजनालाई पक्राउ गरेको छ ।सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा बस्दै आएकी राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनीको हत्या भएको हो ।
लामो समयदेखि हातखुट्टा नचल्ने, शरीर काम्ने लगायतका शारीरिक र मानसिक समस्या भएपछि बालिकालाई माताकहाँ पुर्याइएको थियो ।काठमाडौ रानीवनमा रहेकी माता उर्मिला तामाङ शाहीको टहरोमा उनलाई उपचारका लागि राखिएको आफन्तले बताएका छन् ।
तान्त्रिक उपचारका क्रममा माताले आफुलाई दैवी शक्ति, प्राप्त भएको भन्दै आफैसँग रहेको त्रिशुलले बालिकाको शरिरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेको पाइएको छ ।त्रिशुलले बालिकाको तिघ्रा, खुट्टा लगायत शरीरका विभिन्न भागमा प्वाल नै परेको आफन्तहरुले जानकारी दिएका छन् । उपचारको नाममा माता बस्दै आएको टहरोभित्र लगेर निर्ममतापूर्वक कुटपिट भएको छिमेकीहरु बताउँछन् ।
२०७२ को भुकम्पपछि बालिकामा हातखुट्टा नचल्ने, काम्ने, छोप्ने लगायतका समास्या देखिन थालेको थियो । आफन्तको सल्लाहमा माताकोमा लगिएको बालिकाका सानोबुबा दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए ।
माता बस्दै आएको स्थान टाढा भएकाले माताको सल्लाहमा नै त्यहीँ राखिएको श्रेष्ठले जानकारी दिए ।झारफुकबाट उपचारका लागि बालिकालाई तीन सातादेखि माताको टहरोमा राखिएको थियो । लामो समयदेखि शारीरिक समस्या भएपछि आफन्तहरुको सल्लाहमा माताकोमा लगिएको श्रेष्ठले बताए । माताले बालिकाको शारिरमा ‘लागु’ रहेको र आफुले तान्त्रिक विधीबाट उपचार गरेर ठिक पार्ने आश्वासन दिएकी थिइन् ।
तर, झारफुकको नाममा बालिकालाई दैनिक कुटपिट गर्ने गरेको छिमेकीहरुले जानकारी दिएका छन् ।केही दिनदेखि आफूसँग भएकी बालिका बेहोस बनेको खबर माताले नै परिवारलाई गराएकी थिइन् । त्यसपछि शनिबार बिहान बालिकाको आमासहित केही आफन्त माताको टहरोमा पुगेका थिए ।‘त्यहाँ पुग्दा माताले तिम्रो छोरी बोल्दै बोल्दिन भन्दै काखामा राखेकी थिइन्,’ श्रेष्ठले भने, ‘त्यहाँबाट हामीले उपचारको लागि मनमोहन अस्पताल लग्यौं । तर, तिन घण्टाअघि नै उनको मृत्यु भएको अस्पतालका चिकित्सकले बताए ।’मृतक बालिकाको बुबा रोजगारीको शिलसिलामा केही वर्षदेखि विदेशमा छन् ।
बालिकाको मृत्युपछि आफन्तहरुले महानगरीय प्रहरी प्रभाग स्वयम्भुमा जानकारी गराएपछि प्रहरीले माता र उनकोमा बस्दै आएका दुई पुरुषलाई नियन्त्रणमा लिएको छ ।बालिकाको शव पोष्टमार्ट गरिए पनि आफन्तहरुले शव बुझेका छैनन् । प्रहरीले माता र घटनामा संलग्नहरुलाई कानुन अनुसार कारवाही गर्ने सुनिश्चत नहुँदासम्म शव जिम्मा नलिने आफन्तको अडान छ ।














प्रतिक्रिया दिनुहोस्