जनता टाइम्स

२६ पुष २०७८, सोमबार २१:५६

एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ बिजयी‚ यस्तो छ राजनीतिक यात्रा



काठमाडौं, २६ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले दोलखाको जिल्ला कमिटी अध्यक्ष नरबहादुर श्रेष्ठ बिजयी हुनुभएको छ । सोमबार आएको मतपरीणाम अनुसार श्रेष्ठले ५०९ मत ल्याएर बिजयी हुनुभएको हो भने उहाँका प्रतिद्वन्दी भरतप्रसाद दुलालले २८४ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धरले २७४ र प्रेमकुमारी चौलागाईं २६५ ले ल्याएर बिजयी हुनुभएको छ । सचिवमा हिराकुमार थोकरले ४९६ विजयी हुनुभएको छ । आइतबार भएको मतदानमा ८०७ मत खसेको थियो ।

यस्तो छ श्रेष्ठको राजनितिक यात्रा

भेड्पु गाविस हाल मेलुङ गाउँपालिका–४ मा जन्मिएका अध्यक्ष श्रेष्ठ शालीन र बुद्धिमानी नेता हुनुहुन्छ । श्रेष्ठले २०३६ सालमा त्रिभुवन माध्यमिक विद्यालय मेलुङमा कक्षा ६ मा अध्ययनरत रहँदा तत्कालीन मालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । उहाँले २०३९ सालमा अनेरास्ववियु दोलखाको चौथो अध्यक्ष बनेर काम गर्नुभएको थियो । बुबा बुद्धिमान श्रेष्ठ तथा आमा मनमायाको कोखबाट नवौँ सन्तानको रूपमा वि।स २०२१ साल मङ्सिर २६ गते लामाटारमा जन्मिनु भएका नेता श्रेष्ठले पञ्चायत विरोधी आन्दोलन गर्ने क्रममा ०४१ देखि २०४३ सम्म पटक पटक नजरबन्दमा पर्नुको साथै जेल जीवन समेत भोग्नुभएको छ । आन्दोलनका क्रममा प्रहरीको निशाना बन्दै यातनाहरू खेप्न थालियो । २०४२ सालमा यूथ लिगको सदस्यता प्राप्त गरेका श्रेष्ठ २०४७ सालमा पार्टीको सङ्गठित सदस्य हुँदै २०५७ सालमा जिल्ला कमिटी सदस्य बन्नुभएको थियो । यसै गरी जिल्ला कमिटीमा आर्थिक विभाग प्रमुखको जिम्मेवारी सम्हालेसँगै २०६७ देखि २०७० सम्म सचिवालय सदस्य बन्नुभएको थियो । यस्तै नवौँ अधिवेशनमा पनि अध्यक्षमा दाबी गर्नुभएको थियो । त्यति बेला ईश्वरचन्द्र पोखरेल अध्यक्ष बनेपछि उहाँले उपाध्यक्ष पदमा चित्त बुझाउनुभएको थियो । २०५४ सालको निर्वाचनमा नेकपा एमालेबाट भेड्पू गाविसको गाविस अध्यक्ष पदमा निर्वाचित भएर जनताको सेवामा दिनरात खट्नु भएको थियो । ।सोही बेला देशमा चलिरहेको माओवादीको सशस्त्र द्वन्द्वको समयमा राज्य र माओवादीबाट पीडितसमेत भएको उहाँ बताउनुहुन्छ । नेकपा एमालेको नेता भएकै कारण २०५८ सालमा माओवादीले अपहरण गरी ५ दिनपछि रिहा गरेको र मानसिक यातना दिएका थिए । द्वन्द्वको समयमा गाउँबाट विस्थापित भए पनि माओवादी सरकारमा आएपछि २०६१ मा गाउँ फर्किनस भएको थियो । सोही बेला गौरीशङ्कर मेडिकल सञ्चालन गरेर बसेका बेला माओवादीको मेडिकल उपचारमा सहयोग गरेको आरोपमा राज्यबाट पनि नियन्त्रणमा लिई निर्घात कुटपिट गरी तत्कालीन प्रतिपक्ष दल नेकपा एमालेको दबाबमा २४ घण्टापछि रिहा गरेको थियो ।
यस्तै देश सङ्घीयतामा गएपछि स्थानीय सरकारको २०७४ मा भएको गाउँपालिका स्तरीय निर्वाचनमा मेलुङ गाउँपालिकाबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

आर्थिक तथा शैक्षिक अवस्था

२०४० सालमा प्रवेशिका परिक्षापश्चात उच्च शिक्षाका लागि राजधानी आउनुभएको थियो । काठमाडौँमा अध्ययन गरिरहँदा ट्युसन पढाएर आम्दानी जोहो गरिन्थ्यो अध्यक्ष श्रेष्ठले भन्नुभयो । त्यसपछि दाजुकै इच्छा अनुसार मेडिकल शिक्षा अन्तर्गत आयुर्वेद विषारथ तथा सामान्य चिकित्सा (पिसिएल इन ट्रेडिसनल एन्ड जनरल मेडिसिन) तहको अध्ययन गर्नुभयो । पछि २०४५ देखि २०५४ सम्म नेपाल सरकारको आयुर्वेद विभाग अन्तर्गत कविराज पदमा रही जागिरे जीवन समेत बिताउनु भएको छ। जागिरको सिलसिलामा कास्की (बेगनास), काभ्रे (धुलिखेल), सोलुखुम्बु (नेले), खोटाङ (हलेसी), सिन्धुपाल्चोक (पिपल डाँडा) र आयुर्वेद विभागमा रहेर काम गरिसकेको अनुभव उहाँ संग छ । पूर्णकालीन राजनीतिमा लागेपछि जागिरबाट बिदा लिएसँगै सदरमुकाम चरिकोटमा तीन जना छोरा र श्रीमतीसहित व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) को सम्बन्धनमा दोलखा बहुउद्देश्यीय तालिम संस्थान नामक निजी प्राविधिक शिक्षालय सञ्चालन गरी प्रबन्ध निर्देशकको रूपमा काम गर्नुभएको छ । सिटिईभिटीबाट दोलखाका गरिब, विपन्न परिवारका छोराछोरीहरूलाई प्राविधिक शिक्षामा जोड दिँदै अबको शिक्षा प्राविधिक शिक्षा हो भन्ने सन्देश दिनुभएको छ ।

विदेश भ्रमण

श्रेष्ठले विभिन्न कामको सिलसिलामा भारतको कलकत्ता र सिक्किम र चीनको उहान, सिचुवान, बेइजिङ लगायतका ठाउँको भ्रमण गर्नुभएको छ ।