जनता टाइम्स

२६ पुष २०७८, सोमबार २२:०७

२५ वर्षीया आकृती बनिन् एमाले बागलुङको जिल्ला सदस्य


काठमाडौं, २६ पुस । यतिबेला देशमा विभिन्न राजनीतिक दलका अधिवेशनहरु चलिरहेका छन्। केही ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा लगायतका राजनीतिक दलले केन्द्रीय अधिवेशन टुंगाएका छन्।

नेकपा एमालेको भने यति बेला जिल्ला अधिवेशन भैरहेको छ। जिल्ला अधिवेशन चलिरहँदा विभिन्न उमेर समूहका नेता तथा कार्यकर्ताहरुले आफूलाई नेतृत्वमा स्थापित गर्नका लागि खटिरहेका छन्। पार्टीको महत्वपूर्ण पदमा पुग्नका लागि कपाल फुलाउने कैयौँ नेता तथा कार्यकर्ता पनि धेरै छन्।विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् त कतिपय असफल। कतिपय चाहेको पदमा नपुग्दै राजनीतिबाट किनारा लाग्न पुग्छन्। नेतृत्वमा पुग्ने दौडमा बागलुङको गलकोट नगरपालिका–२ की २५ वर्षीया आकृती भण्डारीले भने छोटो समयमा नै राजनीतिक सफलता हासिल गर्नुभएको छ । युवा उमेरमै भण्डारी नेकपा एमाले बागलुङको जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

२० वर्षको उमेरमा एमालेको जनवर्गीय संगठनको रुपमा रहेको युवा संघको सदस्यता लिएर आफ्नो राजनीतिक यात्रा सुरु गरेकी भण्डारी पाँच वर्ष मै जिल्ला तहको नेतृत्वमा आफूलाई स्थापित गर्न सफल हुनुभएको हो । उहाँ जिल्लामै कान्छी सदस्य हुनुहुन्छ । पाँच वर्ष पहिले नेकपा एमालेको जनवर्गीय संगठन युवा संघबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेकी भण्डारी खेलकुद महासंघको केन्द्रीय सदस्य, प्रदेश खेलकुद परिषदको कार्यसमिति सदस्य र पार्टीको जनवर्गीय संगठनमा रहेर हरेक क्रियाकलापमा सक्रिय भूमिका खेल्नुभएको छ । पार्टीको भित्रका संगठन बाहेक बागलुङ जेसीसको कार्यकारणी उपाध्यक्ष र अन्य विभिन्न सामाजिक संस्थामा रहेर पनि थुप्रै काम गरेकी भण्डारीले नेकपा एमालेको नवौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित हुनुभएको हो ।

‘पार्टी भित्र कुनै तहमा बसेर काम नगरेपनि लामो समयदेखि हरेक गतिविधिलाई नियाल्दै आएको छु। पछिल्लो समयमा हरेक राजनीतिक दलमा युवाको आर्कषण बढ्दै गएको छ’, भण्डारीले भन्नुभयो –‘नेकपा एमालेमा पनि अब युवाहरुको नेतृत्व खाँचो देखेँ अनि जिल्ला सदस्य बन्ने निधो गरे, ।

सर्वसम्मत नै जिल्ला सदस्यमा निर्वाचित भएँ। उाँहले अब पार्टी भित्र युवाहरुका मुद्दालाई अगाडि सारेर उनिहरुका मुद्दालाई स्थापित गर्न लाग्ने बताउनुभयो । भण्डारी जिल्ला सदस्य महिला खुल्ला पदमा निर्वाचित हुनुभएको हो। एमाले बागलुङको अध्यक्षमा पनि युवा नेता हिरा बहादुर केसी निर्वाचित हुनुभएको छ । केसी सँगै अधिकाशं पदाधिकारी र सदस्यहरु पनि युवा नै निर्वाचित भएका छन्।