२७ पुस २०७८, मंगलबार ००:००

एमाले ओखलढुंगाको अध्यक्षमा शंकर कटुवाल विजयी, यी हुन निर्वाचित हुने पदाधिकारी


ओखलढुंगा, पुस २७ । नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कटुवाद भारी मतान्तरसहित विजयी हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा कटुवालले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गर्नुभएको हो । कटवालले ४०० मत ल्याउनु भयो । उहाँलाई नेताहरु बालकृष्ण ढु‌गेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गर्नुभएको छ ।

पराजित भएका गुरुङले २७६ मत पाउनु भयो । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गर्नुभएको थियो ।
उपाध्यक्षमा भारी मतसहित हर्कबोल राई निर्वाचित हुनुभयो । उहाँले ४१३ मत पाउँदा प्रतिद्वन्द्वी रञ्जित धमलाले ३४६ मत ल्याउनु भयो । यस्तै सचिवमा कमल न्यौपाने विजयी हुनुभयो । प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत पाउनु भयो । यस्तै उप सचिवमा मणिराज राई र अशोक थापा निर्वाचित हुनुभएको छ । राईले ३५४ र थापाले ३३७ मत प्राप्त गर्नुभएको छ ।

अन्य सदस्यहरु यस अघि नै निर्वाचित भइसकेका छन् । ७५ जना सदस्यमध्ये सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लोकप्रिय मत ल्याएर बिजयी भएका छन् । त्यस्तै झनक कार्की, उमेश कार्की, बुद्ध श्रेष्ठ, बलबहादुर परियार, दिनेश श्रेष्ठ लगायत युवाहरु खुल्ला सदस्यमा निर्वाचित हुनुभएको छ । अल्पसंख्यक कोटामा ३ युवाहरु निर्वािचत भएका छन् । दावा शेर्पा, हेम सुनुवार र रिञ्जी शेर्पा बिजयी हुनुभएको छ । पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको एमालेको ९औं जिल्ला अधिवेशनले बहुसंख्यक युवाहरुलाई पदािधकारीदेखि सदस्यसम्म निर्वाचित गरेको छ ।